गत आइतबार ,जुन १ का दिन अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा यहूदी समुदायमाथि भीषण आक्रमणको आरोपी मोहम्मद साब्री सोलिमानलाई गम्भीर आपराधिक अभियोगमा पक्राउ गरिएको छ। बिधुतिय कारागार अभिलेखअनुसार, उनलाई मध्यरात अघि काउन्टी कारागारमा बुझाइएको हो।
४५ वर्षीय सोलिमानमाथि विष्फोटक पदार्थ तथा ज्वलनशील हतियार प्रयोग गरी ज्यान मार्ने प्रयाससहितको आपराधिक अभियोग लगाइएको छ।
बोल्डर प्रहरीले जनाएको अनुसार, उनले हातमै बनाएको ‘फ्लेमथ्रोवर’ प्रयोग गरी आगो प्रहार गरे र मोलोटोभ ककटेल अर्थात् आगोको सिसीहरू भीडमा फ्याँकेका थिए । सो हमला गाजामा हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको समर्थनमा आयोजित शान्तिपूर्ण सभामा भएको थियो।
सोलिमानमाथि प्रथम दर्जाको दुईवटा हत्या अभियोगसमेत उल्लेख गरिएको छ, तर हालसम्म कसैको पनि मृत्यु भएको पुष्टि भएको छैन। हमलामा कम्तीमा आठ जना घाइते भएका छन्, जसमध्ये दुईजनालाई डेनभर क्षेत्रका अस्पतालमा उदग्रबिमान (हेलीकप्टर )उद्धारमार्फत पठाइएको छ।
एफबीआईका अनुसार, आक्रमणका क्रममा सोलिमानले “स्वतन्त्र प्यालेस्टाइन!” भन्दै नाराबाजी गरेका थिए। हमलापछि उनलाई १० मिलियन डलर (१ करोड)धरौटीमा राखिएको छ र अदालत मिति सोमबार दिउँसो १:३० बजे तय गरिएको छ।
बौल्डर नगरप्रमुख आरोन ब्रकेटले यस हमला प्रति तीव्र निन्दा गर्दै भने, “शान्तिपूर्ण जमघटमा गरिएको यो घृणित आक्रमणले मलाई दुःखी र आक्रोशित बनाएको छ।”
घटनाको व्यापक निन्दा अमेरिकी सांसदहरूदेखि लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसम्मले गरेका छन्। नेतान्याहूले आक्रमणलाई “हिंसात्मक आतङ्कवादी कार्य” भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यो हमला यहूदी धार्मिक पर्व शाभुओतको पूर्वसन्ध्यामा भएको हो, जसले अमेरिकी यहूदी समुदायमा ठूलो आघात पुर्याएको छ।
प्रतिक्रिया