कोलोराडोबाट भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धान्जली

इनेप्लिज २०८० फागुन २१ गते २:०८ मा प्रकाशित

गत फेब्रुअरी २६ तारिखका दिन काठमाडौँमा दिवंगत हुनुभएका प्रख्यात नेपाली गायक भजन शिरोमणी भक्तराज आचार्यप्रति कोलोराडोवासी गायन क्षेत्रका नेपाली कलाकार, साहित्यकार एवं कला र संस्कृतिका अनुरागीहरु भेला भै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

हिजो मार्च २ तारिख, शनिबार सम्पन्न उक्त श्रद्धाञ्जली अर्पण समारोहमा मीठो स्वरका धनी राष्ट्रिय स्तरका बिभिन्न अवार्ड बिजेता मनोजराज शिवाकोटी लगायत अन्य कलाकार समेतद्वारा स्व.भक्तराजका केही प्रख्यात भजन, राष्ट्रिय गीत र आधुनिक गीतहरु गाएका थिए भने गायक एवं संगीतकार सुरेशचन्द्र प्रधान, गायक मनोज तुलाधर, तवला वादक सुरेन्द्र महर्जन, नवोदित गायक अंकित नेउपाने आदिले गायन र बाद्यवादनमा साथ दिएका थिए।

कार्यक्रको शुभारंभमा साहित्यकार एवं गीतकार ज्ञानेन्द्र गदालले स्व. भक्तराज आचार्यको जीवनी प्रस्तुत गर्दै समारोहमा उपस्थित सबैका तर्फबाट वहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै दुखको यस घडीमा शोकसन्तप्त सपरिवारमा गहिरो समवेदना प्रकट गरेका थिए। सांगीतिक श्रद्धाञ्जलीको पहिलो प्रश्तुति स्वरुप सेक्सोफ़ोनमा ‘जहाँ छन् बुद्धका आँखा…’ गीतको धून बजाएका थिए। त्यसपछि केही भजन, गजल र आधुनिक गीतहरु गाएर श्रद्धेय गायकप्रति श्रद्धासुमन अर्पण गरिएको थियो। अन्तमा बम बहादुर थापाद्वारा रचित ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको सर्वाधिक लोकप्रिय राष्ट्रिय गीत सामुहिक रुपमा सबैले गाएर स्व. आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।

समाजसेवी एवं कुशल व्यवसायी दिनेश भट्टराइ तथा मन्जु भट्टराइको सौजन्यमा प्राप्त याक एण्ड यति रेस्टुरेन्ट ,डेनभरको सभाकक्षमा आयोजित उक्त श्रद्धाञ्जली अर्पण समारोहको संचालन कवि एवं समाजसेवी रमिता तुलाधरले गरेकी थिइन्।

कार्यक्रममा गीतकारहरु साबु गदाल कार्की, बिर्ख गुरुङ, धन पौडेल, गजलकार भुपेन्द्र महत लगायत स्थानीय नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया