अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट २०२३ को अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार घोषणा गरिएको छ । अनेसासको वार्षिक साधारण सभा तथा २१० औं भानु जयन्तीका अवसरमा जुमका माध्यमबाट आयोजित एक समारोहमा उक्त घोषणा गरिएको हो ।
अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयका अनुसार अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार भारतका रण काफ्लेको रैथाने उपन्यास, अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्बोत्कृष्ट बाङमय पुरस्कार महेश्वर पन्तको बौलाको डायरी, अनेसास श्याम कार्की तथा इन्दीरा कार्की सर्बोत्कृष्ट निबन्ध पुरस्कार श्री बाबु कार्कीको शन्दिग्ध शताव्दी, अनेसास डिल्लीराम तिम्सिना सर्बोत्कृष्ट उपन्यास पुरस्कार कल्पना खरेलको रानी तलाउ उपन्यास, अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्बोत्कृष्ट पुरस्कार गणेशकुमार जिसीको अरनिको एशिया ः एक प्रस्तावना, अनेसास राष्ट्रकवि सर्बोत्कृष्ट काव्य (डायस्पोरा) पुरस्कार इजरायलकी सिन्धु पौडेलको मृत सागरको उचाइबाट कविता संग्रह, अनेसास राष्ट्रकवि सर्बोत्कृष्ट काव्य पुरस्कार डा.गोविन्द आचार्यको दंङ्गी उर्वशी महाकाब्य, अनेसास स्व. लक्ष्मीदत्त पाण्डेय सर्बोत्कृष्ट नियात्रा पुरस्कार निर्मोही व्यासको आवारा वादल, अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार महेश पौड्यालको अपरिचित अनुहार, अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत गजल पुरस्कार खेम रिजालको उर्जाको (गिती संग्रह) लाई प्रदान गरिएको हो । उक्त पुरस्कारहरुका पुरस्कारदाताहरु अनेसास तथा प्रा.डा गोपी उप्रेती, रोहिणी शर्मा, डा. श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा. चुडामणि खनाल, तीर्थराज पाण्डेय, पदम विश्वकर्मा र पुरु सुवेदी तथा कल्पना सुवेदी हुन् ।
यसै गरी उक्त समारोहमा अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार अनेसासका पूर्व अध्यक्ष, साहित्यकार प्रा. मोहन सिटौलालाई प्रदान गर्ने घोषणा गरिएको हो । व्यवसायी तथा समाजसेवी सुनिल पाठक पुरस्कारदाता रहनु भएको उक्त पुरस्कारको राशी २००० डलर रहेको छ । अनेसासको संस्थागत विकासमा विशेष सहयोग गर्ने, नेपाली साहित्यको विश्वव्यापिकरण अभियानमा विशेष योगदान गर्ने र कृतिका माध्यमबाट विशेष योगदान गर्ने महानुभावहरुलाई उक्त पुरस्कार प्रदान गरिन्छ । उक्त आधारहरुबमोजिम अनेसास पुरस्कार समितिको बैठकले मोहन सिटौलाको नाम छनोट गरेको थियो । रामलामा अभिनाषी विशिष्ट पुरस्कारको नाम रहेको उक्त पुरस्कार यस अघि अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र पूर्व सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गरिएको थियो । यस वर्ष प्रदान गरिने पुरस्कारको जम्मा रकम १२६०० डलरको रहने छ ।
अनेसासका अध्यक्ष गोवर्धन पूजाको सभापतित्वमा आयोजित उक्त समारोहमा बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माले पुरस्कृतहरुलाई बधाइ ज्ञापन गरेका थिए । पुरस्कारदताहरु, पुरस्कार समिति र निर्णायकहरुलाई धन्यवाद ज्ञापन गर्दै विश्वकर्माले सो पुरस्कारहरु लक्ष्मी जयन्तीका अवसरमा आयोजना हुने एक समारोहमा वितरण गरिने जनाएका थिए ।
उक्त कार्यक्रम महासचिव विमला निरौला र सचिव दीप पाठकले संचालन गरेका थिए ।
प्रतिक्रिया