कोलम्बिया विश्वविद्यालयका छात्र मोह्सेन महदावीलाई पुनः थुन्न पाइँदैन: ट्रम्प प्रशासनको माग अस्वीकार गर्दै संघीय अदालतको ऐतिहासिक निर्णय

इनेप्लिज २०८२ वैशाख २६ गते २०:३७ मा प्रकाशित
Screenshot

वासिङ्टन — अमेरिकी संघीय अपील अदालतले कोलम्बिया विश्वविद्यालयका छात्र मोह्सेन महदावीलाई पुनः आप्रवासन थुनामा राख्ने ट्रम्प प्रशासनको माग अस्वीकार गरेको छ। 

अदालतले निर्णय सुनाउँदै महदावीले आफ्नो पक्राउविरुद्धको मुद्दा चलिरहेका बेला स्वतन्त्र रहन पाउने जनाएको छ ।

न्यायाधीश ब्यारिङ्टन पार्कर, एलिसन नाथन र सुसन कार्नीले सर्वसम्मत रूपमा निर्णय सुनाउँदै भने, “व्यक्तिगत स्वतन्त्रता प्रशासनिक र व्यवस्थापकीय खर्चभन्दा गम्भीर र महत्वपूर्ण हो।” 

अदालतले सरकारको दावी असफल हुने सम्भावना रहेको भन्दै भर्मन्ट जिल्लाको अदालतले महदावीलाई रिहा गर्ने अधिकार नभएको भन्ने तर्क खारेज गर्‍यो।

 दर्शनशास्त्रमा स्नातक पूरा गर्न लागेका महदावीलाई गत महिना नागरिकता अन्तर्वार्ताका नाममा भर्मन्टमा गिरफ्तार गरिएको थियो। 

उनलाई एक दुर्लभ कानुन अन्तर्गत थुनिएको थियो जसअनुसार विदेश नीति प्रतिकूल प्रभाव पार्ने ठहर गरिएको व्यक्तिको प्रवेशाज्ञा(भिसा )रद्द गर्न सकिन्छ।

महदावीका वकिलहरूका अनुसार उनले कोलम्बिया विश्वविद्यालयमा भएको प्यालेस्टिनी समर्थक प्रदर्शनमा भाग लिएको कारण संविधानको पहिलो संशोधनको उल्लंघन गर्दै पक्राउ गरिएको हो। ट्रम्प प्रशासनले भने उनलाई यहूदी विरोधी अभिव्यक्ति र धम्कीयुक्त भाषाको आरोप लगाएको छ जुन महदावीले अस्वीकार गरेका छन्।

इजरायली कब्जामा रहेको पश्चिम किनारामा जन्मेका महदावीले विगत १० वर्षदेखि अमेरिकी स्थायी आवासिय पत्र(ग्रिन कार्ड) राख्दै आएका छन्।

 उनले कोलम्बियामा प्यालेस्टिनी विद्यार्थी संघको सह-स्थापना गरेका थिए। अदालतको निर्णयले राजनीतिक प्रदर्शनमा भाग लिने विदेशी विद्यार्थीहरूको अधिकार सुरक्षित रहने स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया