न्यू जर्सी नेवार्कका नगर प्रमुख (मेयर)आईसीई केन्द्रमा गिरफ्तार, डेमोक्र्याट नेताहरूसँग निरीक्षण गर्न गएका बेला पक्राउ

इनेप्लिज २०८२ वैशाख २७ गते ०:४५ मा प्रकाशित

अमेरिकाको न्यू जर्सी राज्यको नेवार्क शहरका मेयर (नगर प्रमुख ) रास बाराका अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिइ) केन्द्रमा गिरफ्तार भएका छन्।

डेमोक्र्याटिक गभर्नर उम्मेदवार समेत रहेका बाराका न्यू जर्सीका कांग्रेस सदस्यहरूका साथ डिलानी हल डिटेन्सन सेन्टर( कारागार)मा निरीक्षण गर्न गएका बेला शुक्रबार पक्राउ परेका हुन्।

अन्तरिम अमेरिकी अटर्नी अलिना हाब्बाका अनुसार, बाराकाले “अवैध प्रवेश” गरे र अमेरिकी गृह सुरक्षा (होमल्याण्ड सेक्युरिटी)ले दिइरहेका पटक–पटकका चेतावनी बेवास्ता गरे।

उनलाई केन्द्रको द्वार बाहिर जान भनिएको थियो, तर आदेश नमानेपछि पक्राउ गरिएको बताइएको छ। यद्यपि, बाराकामाथि कुनै संघीय मुद्दा भने अहिलेसम्म दायर गरिएको छैन।

बाराकाका चुनावी प्रवक्ताले उनको गिरफ्तारी पुष्टि गर्दै अनुसन्धान भइरहेको बताएका छन्। घटनाको प्रत्यक्षदर्शी रहेका डेमोक्र्याट सांसदहरू बोनी वाटसन कोलम्यान, लमोनिका म्याकआइभर र रोबर्ट मेनेन्डेज जुनियरले बताए अनुसार उनीहरूलाई केन्द्रभित्र प्रवेश दिइएता पनि नगर प्रमुख (मेयर )बाराकालाई रोकेको दाबी गरेका छन्।

“हामी निरीक्षण अधिकार प्रयोग गर्दै थियौं,” सांसद म्याकआइभरले भनिन्, “यो हाम्रो काम हो, जुन हजारौं मतदाताहरूले हामीलाई काम गर्न पठाएका हुन्।”

गृह सुरक्षा विभागले डिलानी हल डिटेन्सन सेन्टर( आप्रवासी थुनुवा केन्द्र )लाई कानुनी प्रक्रिया पुर्‍याएर सञ्चालनमा ल्याइएको दाबी गरे पनि न्यू जर्सीको नेतृत्वले यसको खण्डन गर्दै बाराकाको रिहाइको माग गरेका छन्।

राज्यका गभर्नर फिल मर्फी, सेनटर कोरी बुकर, र महान्यायाधिवक्ता म्याथ्यु प्लेटकिनले यो गिरफ्तारी “लोकतन्त्रविरोधी र अस्वीकार्य” रहेको जनाएका छन्।

तर, रिपब्लिकन दलका अध्यक्ष बोब ह्युगिनले बाराकाको गतिविधिलाई “राजनीतिक नौटंकी” भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया