काठमाडौँ – रेडियोकर्मी भूपेन्द्र खड्काले चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालासँग कुराकानी गर्दै भिडियो पडकास्टको शुरुवात गरेका छन् । BHUPENDRA KHADKA PODCAST नामक युट्युब च्यानलबाट शुरु सो पडकास्टमा नेपाली समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्त्तित्वहरूसँग ‘हृदय-संवाद’ गर्ने खड्काले बताएका छन् । केही समयमा आफ्नो पडकास्ट संसारभरका महत्त्वपूर्ण अडियो माध्यमबाट सुन्न सकिने पनि उनले बताए ।
२ दशकभन्दा लामो समयदेखि सन्चारका विभिन्न माध्यम विशेष गरी रेडियोमा सफल प्रस्तोताको छवि बनाएका खड्का नेपालका सफल गीत तथा गजलकारको रूपमा चिनिन्छन् । ५० वटा नेपाली सिनेमासहित ४५० भन्दा बढी गीत रेकर्ड भएका उनका दर्जनौं हिट गीतहरू छन् ।
बदलिंदो समयअनुसार सजिलो माध्यममा स्रोता र दर्शकले सुन्न र हेर्न सकून् भन्ने उद्देश्यले आफूले पडकास्टको शुरुवात गरेको उनले बताए ।
“अहिलेको समय अडियोमा कन्टेन्ट र भिडियोमा क्वालिटी खोज्ने जमातको हो । मैले मेरो शैलीमा गरेको कुराकानीले हेर्ने र सुन्नेको जीवनशैली बदल्न कतै न कतै भूमिका निर्वाह गर्नेछ,” खड्काले भने।
“परिवर्तित समय अनुसार पडकास्ट स्रोता र दर्शकसम्म आफ्ना कुरा राख्ने बलियो माध्यम हो । त्यसैले मैले नेपालमा पहिलोपटक पडकास्टमा कुराकानी गरें,”, मनिषा कोइरालाले भनिन्।
हाल मनिषा सन्जयलीला भन्सालीको वेब सिरिजको सुटिङका लागि मुम्बईमा छिन्।
प्रतिक्रिया