एरिजोना, अमेरिका – एरिजोनाको दुर्गम पहाडी क्षेत्रमा दुई किशोरकिशोरीको रहस्यमय मृत्यु भएको घटनालाई प्रहरीले सम्भावित हत्या मान्दै विस्तृत अनुसन्धान सुरु गरेको छ।
मारिकोपा काउन्टी शेरिफ कार्यालयका अनुसार मंगलबार बिहान मेसा र पेयसनबीचको माउन्ट ओर्ड क्षेत्रमा दुई किशोर–किशोरी मृत अवस्थामा फेला परेका थिए। मृतकहरूमा १८ वर्षीया प्यान्डोरा जोल्सरड र १७ वर्षीय इभान क्लार्क रहेका छन्।
शेरिफ कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “यो घटनालाई हामी पूर्ण गम्भीरताका साथ हेरिरहेका छौं। पीडित र उनीहरूका परिवारका लागि न्याय सुनिश्चित गर्न हामी कानुनी निकायहरूसँग समन्वय गर्दैछौं।”
प्यान्डोराको परिवारले उनलाई “जीवन्त, माया दिने र हरेक व्यक्तिलाई विशेष महसुस गराउने” आत्मा भनेर वर्णन गरेको छ। आमाले भनेकी छन्, “उनी साहसी, हँसिली र सबैकी प्रिय थिइन्। उनको असामयिक निधनले हाम्रो संसार अन्धकारमा परेको छ।”
दुवै किशोर/किशोरी फिनिक्स स्थित आर्काडिया माध्यमिक बिद्यालयका विद्यार्थी थिए। विद्यालयले अभिभावकहरूलाई पठाएको पत्रमा विद्यार्थीहरूलाई भावनात्मक सहयोगका लागि परामर्शदाता र मनोवैज्ञानिक टोली परिचालन गरिएको जनाएको छ।
यो दर्दनाक घटनाले स्थानीय समुदाय स्तब्ध भएको छ। प्रहरीले अहिलेसम्म अपराधी वा संदिग्धबारे केही खुलाएको छैन। अनुसन्धान जारी रहेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया