बाढीले पुल बगाएपछि आवतजावतमा समस्या

इनेप्लिज २०७२ साउन १५ गते ४:१२ मा प्रकाशित

खोटाङ, १५ साउन । बाढीले पुल बगाएपछि खोटाङका दर्जनभन्दा बढी गाविसका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

गत असार १९ गते राति परेको भारी वर्षापछि आएको बाढीले मेवा र साप्सु खोलामा हालिएको झोलुङ्गे तथा काठे पुल बगाएपछि आसपासका दर्जनभन्दा बढी गाविसमा बसोबास गर्नेलाई आवतजावतमा समस्या भएको हो ।

रातको समयमा आएको बाढीले रतन्छा–४ र दोर्पाचिउरीडाँडा–५ जोड्ने लामीदुवाली, मात्तिम र टेम्मा जोड्ने बर्मी, मात्तिम र छितापोखरी जोड्ने सिरुवा झोलुङ्गे पुल, खिदिमा–७ र छितापोखरी–९ तथा खिदिमा–३ र ८ जोड्ने स्टिलट्रसका साथै दर्जनौँ ठाउँमा हालिएको काठे पुल बगाएपछि आवतजावतमा समस्या भएको मात्तिमका भुवनकुमार आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाढीले पुल बगाएपछि सबैभन्दा बढी विद्यार्थीलाई समस्या भएको छ, खोला तरेर जानुपर्ने विद्यालयका कतिपय विद्यार्थीलाई त विद्यालय पठाउन पनि छाडिएको छ ।” बाढीले सबै प्रकारका पुल बगाएपछि यस क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेललगायत अन्यत्र आवतजावत गर्न समस्या भएको खिदिमाका हङ्सराज राईले बताउनुभयो ।

बाढीले झोलुङ्गे तथा काठे पुल बगाउनुका साथै खोलामा ठूलो भौडी पारेकाले वारपार गर्न सक्ने अवस्था नहरेको स्थानीयवासीले बताएका छन् । कतिपय ठाउँमा एक÷डेढ घन्टा घुमेर भौडी पार गर्नुपर्ने अवस्था रहेको रतन्छाका नवीन राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “माथिबाट ढुङ्गा झरिरहेको हुन्छ, एक÷डेढ घन्टा घुमेर पार गर्नुपर्ने ठाउँमा एकदमै जोखिम मोल्नुपर्ने अवस्था छ ।” सोही रात मेवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका मात्तिम–५ की ४० वर्षीया परिमायाँ राई र उहाँकी छोरी १२ वर्षीया समिता राई अहिलेसम्म फेला परेको छैन । खोलाको किनारमा रहेको नाम्खा दोभानस्थित खेतमा रोपाइँ गर्न अस्थायी कटेरामा बसेका आमाछोरीलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।

बाढीले त्यस क्षेत्रमा बसोबास गर्ने दर्जनौँ परिवार विस्थापित भएका छन् भने खेतीयोग्य जमिन, पाक्न लागेका धान, चारवटा लघु जलविद्युत्, दर्जनौँ गाईगोरु र तीन दर्जनभन्दा बढी बाख्राखसी बगाएको छ । बाढीले ठूलो मात्रामा क्षति पु¥याए पनि विस्थापित परिवारबाहेक आफूहरुले राहत नपाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया