विराटनगर,२६ वैशाख।लगनशील भएर अध्ययन गरेमा सफलता प्राप्त हुने स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीहरुले प्रमाणित गरेर देखाएका छन्।
विराटनगर–१० मा रहेको उक्त्त माविमा अध्ययन गरेका २६ जना छात्रछात्राले विसं २०७८ मा चिकित्सा शास्त्र,परामेडिकल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
यसरी पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्सा शास्त्रतर्फ दुई छात्रा सहित १० जना, पारामेडिकलतर्फ एक छात्रा सहित आठ जना र इन्जिनियरिङतर्फ त्रिभुवन विश्वविद्यालयको पुल्चोकमा आठ जना छात्र रहेका छन्।
विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सातर्फ छात्रवृत्ति प्राप्त विद्याथी प्रज्वलराज माझीले शिक्षकहरुको सहि मार्गदर्शन र लगनशीलता भै अध्ययन गर्नाको कारण आज सफलता हासिल गर्न सफल भएको बताउनु भयो।
विद्यालयका प्राचार्य राजेश कार्की,,विकास खनालले विद्यार्थीहरुले प्राप्त गरेको सफलताले अन्य विद्यार्थीहरुलाई प्रेरणा प्राप्त भै अध्ययनमा उर्जा प्राप्त हुने विश्वास व्यक्त्त गर्नु भयो।
सो अवसरमा विद्यालयका प्राचार्य कार्की र खनालले छात्रवृत्ति प्राप्त विद्यार्थीहरु एवं अभिभावकलाई नगद सहित प्रमापत्रद्वारा सम्मान गर्नु भयो।
सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी दिवस थापाद्वारा स्थापित ‘सुरेन्द्र एवं रिता थापा स्मृति ’पुरस्कारबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु निरज रेग्मी र निकिता झालाई रु ३५ हजारको छात्रवृत्ति प्रदान गरियो।
विसं २०५६ मा स्थापित विद्यालयमा दशजोड दुईको विज्ञान सङकार्यतर्फ एक हजार छ सय,व्यवस्थापन र होटल व्यवस्थापनतर्फ एक सय छात्रछात्राले अध्ययन गरिरहेका छन्।
प्रतिक्रिया