कतारको अल-उदेद अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र आक्रमण: हालसम्म कुनै क्षति नभएको पुष्टि

इनेप्लिज २०८२ असार ९ गते १८:३७ मा प्रकाशित

इरानले सोमबार कतारस्थित अल-उदेद सैनिक अड्डा(एयर बेस)मा छोटो र मध्यम दूरीका प्राक्षेपिक क्षेप्यास्त्र(ब्यालिस्टिक मिसाइल)हरु प्रहार गरेको अमेरिकी रक्षा अधिकारीले जानकारी दिएका छन्। 

अमेरिकी अधिकारीले भने, “यस क्षणसम्म अमेरिकी हताहतीको कुनै विवरण आएको छैन। हामी स्थिति नजिकबाट निगरानी गर्दैछौं र थप विवरण उपलब्ध भएलगत्तै जानकारी दिनेछौं।”

अल-उदेद अमेरिकी सेनाको मध्यपूर्वको सबैभन्दा ठूलो हवाई सैनिक अड्डा  हो।

अमेरिकी सेनाले त्यहा राखिएका विमानहरू गत हप्ता नै सुरक्षा कारणले अन्यत्र सारिसकेको थियो।

पेन्टागनका दुई अधिकारीहरूले सिएनएनलाई बताए अनुसार, यी तयारीहरू अमेरिका–इरान–इजरायल तनावका कारण अमेरिकी सैन्य उपकरण र जनशक्ति सुरक्षित राख्न गरिएको थियो।

यसैबीच, बहराइनमा रहेको अमेरिकी नौसेना सैनिक अड्डामा तैनाथ सबै युद्धपोतहरू पनि गत हप्ता नै बाहिर पठाइएको जनाइएको छ, तर ती कहाँ लगिए भन्ने खुलाइएको छैन।

अन्त्यमा अमेरिकी अधिकारीले अल-उदेद हवाई सैनिक अड्डाको इरानी आक्रमण सकिएको छ र हालसम्म कुनै क्षति वा घाइतेको खबर छैन।

प्रतिक्रिया