एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ उन्मुख

इनेप्लिज २०७२ साउन ९ गते १:५८ मा प्रकाशित

तौलिहवा (कपिलवस्तु), ९ साउन । कपिलवस्तु नगरपालिकास्थित साविक तिलौराकोट गाविसमा रहेका एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ लागेका छन् ।

निगाली आयआर्जन समूह गठन गरी उनीहरु आयआर्जनका लागि अग्रसर भएका हुन् । खान लाउन समस्या भएपछि उनीहरु सङ्गठित भई अढाई वर्षदेखि बचत सङ्कलन गरी त्यसैमार्फत पालैपालो ऋण लिई विभिन्न आयमूलक काममा लागेका हुन् । दुई दर्जन एचआइभी सङ्क्रमित सदस्य रहेको समूहमा अहिले रु ६० हजारभन्दा बढी पैसा जम्मा भएको छ । सो समूहकी अध्यक्ष विष्णु परियार (नाम परीवर्तन)ले आफूहरु सङ्क्रमित भई खान लाउनसमेत समस्या भएपछि सङ्गठित भई आयआर्जनमा लागेको बताउनुभयो । सुरुमा मासिक रु २५ जम्मा गर्दै आएका उनीहरु अहिले मासिक रु १०० उठाएर समूहमा जम्मा गर्दै आएको छ ।

जम्मा भएको रकमबाट समूहमा आबद्ध रहेका सदस्यले कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलगायतका लागि ऋण लिएको उहाँले बताउनुभयो । एचआइभी सङ्क्रमितका लागि जिल्लामा क्रियाशील सक्रिय सेवा समाजको अगुवाइमा गठित निगाली समूहलाई संस्थाले दुई पटक गरी रु ३० हजार प्रदान गरेको थियो ।

कुखुरापालनका लागि लिएको रु १० हजार ऋणले आफूले कुखुरापालन गरेको र त्यसबाट उत्पादित अन्डा, कुखुरा बेचेर आयआर्जनमा केही सहजता आएको विष्णुले बताउनुभयोे ।

वैदेशिक रोजगारीका लागि भारत गएका बेला श्रीमान् सङ्क्रमित भई घर फर्केका बेला विष्णु सङ्क्रमित भएको थियो । सङ्क्रमित भएर स्वास्थ्य अवस्था कमजोर भएपछि खानलाउन विष्णुलाई समस्या भएको थियो । आयआर्जनका लागि कुखुरापालनलगायतका काम गरेपछि खानलाउन र घर व्यवहारमा मद्दत मिलेको विष्णुको भनाइ छ ।

यस्तै अर्की सङ्क्रमित पविता चौधरीले निगाली समूह गठन गरी आफूहरु आयआर्जनतर्फ लागेपछि जीवनयापनमा केही सहजता आएको बताउनुभयो । “केही वर्ष अघिसम्म दुईचार पैसाका लागि समस्या पथ्र्यो अहिले भने अरुसँग माग्न पर्ने स्थिति नरहेको चौधरी भन्नुहुन्छ । आयआर्जनमा केही सजिलो भए पनि आफूहरुलाई उपचारका लागि भने गाह्रो परिरहेको पीडितको गुनासो रहेका छन् ।”

सिडी फोरका लागि छ महिनामा एक पटक पाल्पा जानुपर्दा समस्या आउने गरेकाले सो उपचारको व्यवस्था जिल्लामै हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया