अदालतमा ७० प्रतिशत बढी मुद्दा फछ्र्योट

इनेप्लिज २०७२ साउन ५ गते १:५९ मा प्रकाशित

तौलिहवा (कपिलवस्तु), ५ साउन । कपिलवस्तु जिल्ला अदालतले आव २०७१/७२ मा ७० दशमलव १६ प्रतिशत मुद्दा किनारा लगाएको छ ।

दर्ता भएका दुई हजार १०८ मुद्दामध्ये एक हजार ४७९ फछ्र्योट गरिएको हो । आव ०७०/७१ मा दुई हजार २६५ मुद्दामध्ये ७० दशमलव १९ प्रतिशत मुद्दाको किनारा लागेको थियो ।
गत आवमा एक हजार ४३३ मुद्दा दर्ता भएको थियो भने जिम्मेवारी सरेर आएको ६७५ मुद्दा थिए । ६२९ मुद्दा अझै फछ्र्योट हुन बाँकी छ ।

गत आव व्यक्तिवादी देवानीका ९४३, व्यक्तिवादी फौजदारीका ३५३, सरकारी फौजदारीका १६८ मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार ईश्वरी भण्डारीले बताउनुभयो ।

यस्तै रिटतर्फ परेको निषेधाज्ञाको १५ मामला समेतको किनारा लागेको छ । गम्भीर प्रकृतिका मुद्दाको निरन्तर सुनुवाइ र धेरै पुराना मुद्दासमेत फछ्र्योट गर्ने अदालतले कार्ययोजना बनाएको उहाँले बताउनुभयो ।

जबर्जस्ती करणी, मानव बेचबिखन, लागुऔषधलगायतका जघन्य अपराधको निरन्तर सुनुवाइ गरिएकाले अब धेरै पुराना मुद्दा अदालतमा बाँकी नरहेको उहाँको भनाइ छ । गत आवमा तीन महिनाभित्र मुद्दाको किनारा लगाएको थियो । दुई वर्ष नाघेका अदालतमा एउटा पनि मुद्दा बाँकी नरहेको भण्डारीले जानकारी दिनुभयो ।

अब अदालतमा एक वर्षभित्रका ६०८, एक वर्षदेखि डेढ वर्षभित्रका १९ र डेढ वर्षदेखि दुई वर्षभित्रका केवल दुई मुद्दा मात्रको फैसला हुन बाँकी छ । नमुना जिल्ला अदालतमा पाँच न्यायाधीशले फौजदारी र देवानी मुद्दाको अलगअलग इजलासले हेर्दै आएका छन् ।

अदालतमा रु तीन करोड ५० लाख उठ्न बाँकी

कपिलवस्तु जिल्ला अदालतमा यो वर्ष अझै करिब रु तीन करोड ५० लाख जरिवाना उठ्न बाँकी रहेको देखिएको छ । कपिलवस्तु अदालतले गत आव २०७१÷७२ मा करिब रु चार करोड ५६ लाख ३२ हजारमध्ये रु एक करोड तीन लाख ३३ हजार जरिवाना असुल गर्न सकेको हो ।

अदालतले अझै रु तीन करोड ५२ लाख ९९ हजार जरिवाना उठाउन बाँकी रहेको अदालतको प्रतिवेदनमा देखाइएको छ । यस्तै अदालतमा तीन हजार ७३५ वर्ष तीन महिना २० दिन कैद सजाय फछ्र्योट गर्न बाँकी छ ।

गत आव चार हजार ६१२ वर्ष दुई महिना सात दिनको कैदमध्ये ८७६ वर्ष १० महिना सात दिन मात्र कैद असुली गरिएको थियो ।

प्रतिक्रिया