हिंसालाई शीपले परास्त गरेकी बालिका

दशरथ घिमिरे २०७६ मंसिर २१ गते १०:५८ मा प्रकाशित

दशरथ घिमिरे ,दाङ – वाक्य फुटेन । आँखा राता भए । आँखाबाट आँसुका ढिक्का खस्न थाले । विगत सम्झँदा अझै उनको मन यसैगरी भक्कानिन्छ । बिस्तारै उनले आफ्नो वर्तमानका उपलब्धी बताउन थालिन । विगतमा जानै मन छैन अब । जे छ वर्तमानमा छ ।

बालिका ओलीको जीवनमा नसोचेको घटना घट्यो । जीवनभरि साथ दिने वाचा गरेका जीवनसाथीले अर्काे विवाह गरे । त्यति मात्रै होइन, सम्पत्ति नाममा त गरिदिए तर त्यो सम्पत्ति धितो राखेर श्रीमानले ९५ लाख रुपैयाँ बैंकबाट ऋण निकाले ।

सबै रकम श्रीमानले लगे । बालिकालाई मात्रै ऋणको भारी । बालिकाले तीन वर्ष लगातार हिंसा सहेर बसिन् । हिंसा सहनै नसकेपछि अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चल्यो । वर्षदिनमा मुद्दाको किनारा लाग्यो ।

सम्बन्ध विच्छेद हुँदा उनीसँग एक रुपैयाँ पनि थिएन । दुई छोराकी आमा बनिसकेकी बालिकालाई आफ्नो र छोराको ख्याल गर्नुपर्ने दायित्व थपियो । ‘मर्ने कि बौलाउने स्थितिमा आइपुगेकी थिएँ ।

छोरा पढाउन सक्ने अवस्था थिएन ।’ चार वर्षअघिको घटना सम्झँदै बालिकाले भनिन् ‘सबैको हौसला र हिम्मतले मैले नयाँ जुनी पाएँ ।’

सम्बन्ध विच्छेद हुँदा खाली हात निस्केकी बालिकाको जीवनमा चार वर्षको अन्तरालमा धेरै परिवर्तनहरु आए । लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा बालिकाले टाइगर हिल्सन गार्मेन्ट उद्योग खोलेकी छन्। । यहि उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारी पाउने अधिकांस हिंसामा परेका महिला छन् ।

सम्बन्ध विच्छेद हुँदा उनीसँग एक रुपैयाँ पनि थिएन ।

मासिक झण्डै डेढ–दुई लाख रुपैयाँ तलब मात्रै बुझाउँछिन् । ‘एक रुपैयाँ नहुँदाको पीडा कस्तो हुन्छ भन्ने सम्मको अनुभूति मसँग छ । तर, जीवनमा कहिल्यै हरेश खानुहुँदैन भन्ने सिकाइ भएको छ।’ उनले भनिन्, ‘हिंसामा परेँ । अब केही गर्न सक्दैन कि भनेर सोच्नु नै गलत रहेछ । कसरी म सफल हुन सक्छु भनेर इमानदारीताको साथ लगनशील भएर काम गर्ने हो भने सफलता धेरै टाढा रहेनछ ।’

बालिकाले गार्मेन्ट उद्योगको कमाइबाट १३ कट्ठा जग्गा जोडिन । जेठो छोरालाई पढ्न १६ लाख खर्च गरेर अष्ट्रेलिया पठाएकी छन् ।

जेठो छोरालाई पढ्न १६ लाख खर्च गरेर अष्ट्रेलिया पठाएकी छन् 

चारवटा मेसिन र तीनजना महिला कामदार राखेर उनले गार्मेन्ट उद्योग खोलेकी हुन् । अहिले उद्योगमा १५ वटा मेसिन र १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मौसम अनुसारका कपडा उद्योगमा बन्छ । जाडो मौसमलाई चाहिने कपडा सिलाउन कामदार अहिले व्यस्त छन् । बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म फुर्सद छैन । उनले उत्पादन गरेका सबै कपडा प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लाहरुमा बिक्री भैरहेको छ ।

‘अर्डरले फुर्सद दिँदैन । हिजो उद्योग भरिभराउ थियो । सामान पठाएँ । अब फेरि नयाँ कपडाको अर्डर आएको छ।’ उनले भनिन्, ‘हातमा सिप हुने हो भने जस्तो समस्यबाट पनि पार लाग्न सकिन्छ ।’

(यो लेख दशरथ घिमिरेले देश संचारमा लेखेका हुन् । उत्प्रेरणादायी लेख भएकोले प्रकाशित गरिएको हो )

प्रतिक्रिया