‘रक्सि त् आखिर रक्सि हो नि!’

रजनी (कन्चन) मल्ल २०८१ वैशाख १४ गते २१:४३ मा प्रकाशित

ठुलो ठुलो आवाजमा “पिउदिन म भन्दा भन्दै पिलायो साथीले” भन्ने गीत गुन्जिरहेको हुन्छ। यसो तल छिमेकीको आगनमा हेर्छु त्यहि छिमेकीको छोरा ब्हिल चियर मा बसेर शुन्य आकाशलाई एकनाससित टोलाएर हेरिरहेको देख्छु। सुनेकि थिए केहि बर्ष अघि रक्सि खाएर गाडी हाकेरआउदा दुर्घटनामा परेर यस्तो भएको हो रे। नरमाइलो लागेर आउँछ। भुइँमा थचक्क बस्छु।

हरेक बर्ष हाम्रो समाजमा आइरहने बिभिन्न चाडपर्व, भोजभतेरमा रमाइलो गर्न अनि खुशीको नाममा अन्य खानेकुराहरुको साथमा घरमा बनेको रक्सि देखि लिएर बिभिन्न ब्रान्डका रक्सीहरु पनि सामेल गरेको हुन्छ। हो पाच तारे होटेलको बारमा सजिएको बिभिन्न ब्रान्डको रक्सि होस् या कुनै साधारण भट्टीमा सजिएको जाड अनि लोकल रक्सि नै किन नहोस् आखिर रक्सि त् रक्सि हो नि।

कसैले खुशीको लागि पिउछ त् कसैले दुख भुलाउन भनेर पिउछ त् कसैले लै लै मा लागेर वा कसैले रहर गरेर पिउछ। शुरुशुरुमा त् आफुले जुन उधेश्यले पिएको हो, त्यो पुरा भए झैँ लाग्ला तर पछि बिस्तारै यसको लत बढेर छुटाउन नसकेमा यसले जीबन नै सखाप पारेको पनि नदेखेको होइनन्। के रक्सीले जिबनमा भएको दुख पीडा लाई पखाल्छ त्? के क्षणिक खुशीको लागि पिएको रक्सीले पछि सम्म खुशी देला त्? “मैले यति पेग खाए मैले उति पेग सकाए” भनेर गर्ब गरेर भन्नेहरु पनि नभएका होइन्। पेग बढ्दै गए पछिको गफ मजाक देखि लिएर झैँ झगडा अनि दुर्घटना हरु पनि नभएका होइनन्। पिउनेका बेहोसीमा बोलेका शब्दहरु अनि क्रियाकलाप माथि भएका मजाक ब्यग्यहरु पनि उनीहरुलाई थाहा हुदैन। अनि उनीहरुको स्वास्थ्यमा परेको असरहरु पनि उनीहरुलाई थाहा हुदैन तर त्यसले उनीहरुका परिवार माथी परेको मानसिक पीडाहरु, तनाबहरु कति हुन्छन भन्ने कुरा उनीहरुलाई नै थाहा हुन्छ।अरुका सामु बिशेष गरि यदि श्रीमानले मात्रा भन्दा बढी पिउदै गर्दा श्रीमतीले वा श्रीमतीले मात्रा भन्दा बढी पिउदै गर्दा श्रीमान केहि भनु भने अरुले कस्तो कन्ट्रोल गरेको भन्ला भन्ने डर, नभनु भने मुटु फुट्ला भन्ने डर लिएर चुपचाप हुनुपर्ने हुन्छ। कसैले त् भन्छन् नै।

पिउने ले सोच्नुपर्छ कि उसले पिउदा उसलाई क्षणिक मज्जा आउँछ। तर त्यसको लत पर्दै गयो भने छुटाउन गार्हो हुन्छ, जसले गर्दा आफुलाई माया गर्ने, आफ्नो स्वास्थको ख्याल गर्ने आफ्नो परिवारलाई मानसिक पिडा हुन्छ। अनावश्यक खर्च हुन्छ, आफ्नो स्वास्थ्यमा नकारात्मक असर पर्छ। त्यतिमात्रै कहाँ हो र? परिवार नै भताभुंग हुन बेर लाग्दैन। तसर्थ पिउने लत लागेको छ भने समय मै छुटाउनु बेस हुन्छ। यस्तो स्वार्थी दुनियामा आफुलाई ख्याल गर्ने परिवार भाग्यमानी ले मात्रै पाउँछ। नत्र त् “जसले पिएको हो त्यसको परिणाम उसैले भोग्छ नि, त्यो कुनै बच्चा होइन, कुन ठिक कुन बेठिक भन्ने त् उसैलाई थाहा हुन्छ नि, हामीले बेकारमा किन चिन्ता लिने अनि त्यसको चिन्तामा हाम्रो यो निर्दोष आशु किन बहाउने” भन्न पनि बेर लाग्दैन अति भए पछि।

आफु पनि पिउने अनि साथीभाईहरुलाई पनि थपि थपि पिलाउने भद्र भलादमीहरु पनि नभएका होइनन् तर क्षणिक खुशीको लागि पिउदै र पिलाउदै गर्दा बढी हुदै जादा कोहि ठुलो कमेडिएन बन्लान्, कोहि तिस मार खा बन्लान्, कोहि जान्ने बुझ्ने बनेर ज्ञान गुणका कुराहरु बाद्लान, कोहि रक्सीको बोतललाई हेर्दै के के सम्झेर मक्ख पर्लान्, कोहि रक्सीलाई मिल्ने साथी सम्झेर रुदै दुखेसो पोख्लान् अनि त्यो माहौल लाई नै मनोरंजन देलान्। कोहि आफुलाई बलबान सम्झेर त्यो माहौललाई युद्दको मैदान बनाउलान, कोहि अपराधिक मानसिकता भएकाहरुले अपराधहरु गर्लान्, कोहि पिउदै वा पिएर सवारी साधन हरु चलाएर आफु वा अरुलाई अपाहिज बनाउलान्। त्यतिमात्रै कहाँ हो र आफ्नो र अरुको ज्यानै लेलान् वा यी अन्य गतिबिधिहरुले आफुलाई माया गर्ने परिवारलाई अनेकौ मानसिक चोट र शारीरिक पिडा नदेलान के भन्न सकिन्छ र ! त्यसलाई पछि सम्म पनि सजिलै संग भुल्न सकिदैन। हो कुनै पनि भोज भतेरमा आफन्त साथीभाई संग रमाइलो गर्नुपर्छ तर रमाइलो गर्ने नाममा आफुले ठेग्नै नसकिने गरि पिउने र पिलाउने ठुलो मुर्ख्याई हो।

रक्सीले पार्ने नकारात्मक असरको बारेमा पनि सोच्नुपर्दछ। बढी पिउदा स्वास्थ्यमा हुने असर, झैँ झगडा हुन् सक्ने सम्भावना,अनि त्यसले परिवारमा दिने मानसिक पीडा, मानसिक तनाव,आफ्ना आफन्त संगको सम्बन्धमा पर्न सक्ने असर सबै कुराहरु त् छदैछ। त्यसमा पनि पिएर सवारी साधन चलाउदा हुन् सक्ने दुर्घटना जसले आफ्नो मात्रै ज्यान जाने नभई अरु निर्दोष प्राणीको पनि ज्यान जान सक्छ। जन्मदा सध्य भएर जन्मे पनि अपाहिज हुन् सक्छ अनि जिन्दगीभर पछुताएर जिउनुपर्छ। धेरै रक्सि पिउदा स्वस्थ्य निरोगी जीवन अस्वस्थ्य भएर रोगी भएर जिउनु पर्ने हुनसक्छ। तसर्थ समयमै रक्सी पिउने लतबाट टाढा हौऊ र निरोगी भएर जिएर जीबनको सदुपयोग गरौ, मज्जा लेऔ, परिवारलाई पनि खुशी देऔ, समाजको पनि ख्याल राखौ। यस्ता रक्सी तथा अन्य लागु पदार्थहरु बाट व्यक्ति, घर परिवार, सामाज अनि राष्ट्रलाईनै अदृश्य रुपमा नकारात्मक असर पार्ने कुराहरुलाई ख्यालमा राखी यस्ता कुराहरुबाट समयमै सतर्क होओ।

भाग्यले पाएको ‘सर्बश्रेष्ठ प्राणी मानब’को यो अमूल्य जीबन लाई त्यसै खेर नफालौ। सबै कुरा भैसकेपछि रोएर कराएर पछुताएर केहि हुनेवाला छैन।

किन कि ‘रक्सी त् आखिर रक्सी हो नि !’

– रजनी (कन्चन) मल्ल

प्रतिक्रिया