पपुलिजम र  नेपाली लोकतन्त्र

शुसिल थापा २०८१ वैशाख १३ गते २१:४४ मा प्रकाशित

लामो समय देखी राजनैतिक दल कस्तो हुनु पर्छ भन्ने सवालमा विभिन्न तर्क वितर्क भएको पाईन्छ नै । तर पनि एउटा लोकतान्त्रिक व्यवस्थामा राजनैतिक दल शैद्धान्तिक उद्धेश्यमा प्रष्ट, लोकतान्त्रिक मुल्य र मान्यताद्धारा निर्देशित र वहुजनको नेतृत्वलाई स्विकार गर्ने हुनु पर्दछ भन्ने सवालमा कमै मात्र असहमत होलान । कुनैपनी देशले आजको विश्वमा आफ्नो अस्तित्वलाई सवल वनाउनका लागी आफ्नो आन्तरीक राजनितीलाई सवल र सक्षम राख्नु पर्ने देखिन्छ, र अर्को तर्फ राजनिती भित्र आफुलाई टिकाईराख्नका लागी राजनैतिक दलहरुले पनि दरिलो आधारको निर्माण गर्नुका साथै आफुमा नविनता प्रदर्शन गर्नु महत्वपूर्ण हुन आउँछ । नेपालमा राजनैतिक दलहरुको ईतिहाँस संसारका अन्य प्रजातान्त्रिक व्यवस्था भएको मुलुकको तुलनामा निकै कम छ । नेपालका राजनैतिक दलहरुले लामो समय शासनका विषयमा भन्दा पनि व्यावस्थाका खातिर खर्चेको तथ्य सर्वविदितै छ । तसर्थ वर्तमान राजनैतिक दलहरु नेपालको शासन व्यवस्था र संस्थाहरुको संस्थागत विकाशमा गम्भिर रुपमा चुकेका हुन भन्ने लाग्छ । प्रजातन्त्र प्राप्तिको आन्दोलन संगै नेपालमा मुलत दुई राजनैतिक धारको विकाश भएर आएको तथ्यलाई नकार्न सकिन्न । एउटा वहुदल र उदारवादमा विश्वास गर्ने नेपाली काँग्रेस र अर्को साम्यवादमा विश्वास गर्ने कम्युनिष्ट धार । तर लोकतन्त्रको विकाशका चरणहरुमा विभिन्न राजनैतिक दलहरुको उदय तथा विलयको श्रृंखला नै चल्दै रह्यो, जुन अहिले सम्म जारी छ भन्दा अनुपयुक्त नहोला । यसरी खुद्रा राजनैतिक दलहरुको निर्माण र विलयले नेपाली जनतालाई लोकतन्त्रले खास उपलव्धि दिन सकेको छैन र पछिल्लो समयमा त नयाँ राजनैतिक व्यवस्था अनुरुपको निर्वाचन प्रणालीले अस्थिरताको राजनितीलाई अझै मलजल गरेको पाईन्छ ।

तात्कालिन आमनिर्वाचन पछि पनी केही नयाँ साना राजनैतिक दलहरुको व्यापार सुरु भएको देखिएकै छ र उनीहरुका लागी सत्तारोहण यस अर्थमा सजिलो भयो कि, हाम्रो अहिलेको निर्वाचन व्यवस्थावाट एउटै दलले सरकार वनाउने वाटाहरु लगभग समाप्त गरिदिएको छ । माओवादीहरुको शान्ति प्रकृयामा प्रवेश संगै र अझ एमालेमा समायोजन पछि राजनैतिक विश्लेषकहरुले एउटा सकारात्मक अपेक्षा गरेका थिए कि , अव नेपालमा राजनितीक दलहरुको ध्रुविकरण तिनीहरुको बिचार र शिद्धान्तका आधारमा हुनेछ । तर दुर्भाग्य सत्ताको लुठाचुडीमा कम्युनिष्टहरु एक छाना मुनी रहन सकेनन र केही झुण्डहरुमा पुन विभक्त भए । जसले गर्दा नेपाल र नेपालीले अस्थिर राजनितीको चक्रवाट मुक्ति पाउन सकेनन । आज नेपालको राजनिती एउटा अप्ठेरो मोडमा रहेको छ, किनभने वर्तमान निर्वाचन प्रणालीले एउटा दललाई स्पष्ट वहुमत नदिने, र अर्कोतर्फ समस्यालाई भजाएर आफ्नो स्वार्थ पूरा गर्न राजनैतिक दलहरुको स्थापना भईरहने प्रवृतिले हामीलाई अगाडी वढ्न दिने अवस्था छैन । हामीले देख्यौ नै एक वर्षको अवधिमा तिन तिन पटक सत्ता गठवन्धनहरुको निर्माण भयो र यसले हाम्रो राजनितीलाई अस्वस्थ खेल र भ्रष्ट प्रवृतिको पुनरावलोकन वाहेक केही गराउन सकेन । केही नयाँ भनिएका राजनैतिक दलहरुपनि यो सत्ताको खेलमा कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रुपमा सहभागी भएका छन । जसले गर्दा हामी सहजै अनुमान र विष्लेषण गर्न सक्छौ की नयाँ दल खुल्नुको अर्थ नयाँपन आउनु हैन रहेछ । नाजायज महत्वाकाँक्षा र प्रवृतिमा परिवर्तन नआए सम्म जतीसुकै नयाँ दल खुले पनी तिनीहरु पुरानै भन्दा केही भिन्न हुने छैनन । खतरा त यो छ की, नयाँ भन्नेहरुले झनै राज्यलाई कमजोर बनाउने र दोष जति पुरानालाई देखाएर पन्छिने स्थिती नआउला भन्न सकिन्न । यसर्थ यस पटकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सत्तारोहणलाई गम्भिर ढंगवाट विष्लेषण जरुरी छ भन्ने लाग्छ ।

विष्लेषकहरु भन्दछन की रास्वपा नितान्त रुपमा भिडवाट अर्थात पपुलिजमका आधारमा जन्मिएको राजनितीक दल हो र भिडवाट निर्देशित राजनितीक समुह स्वाभावत सिद्धान्त वा निती भन्दा बाहिर हुन्छ । भनिन्छ कि सिद्धान्त विहिन राजनितीक दलहरुले लोकतन्त्रलाई कमजोर वनाउँछन र मतदाताहरुले सुसुचित निर्णय गर्ने अवशर गुमाउँछन । साथै सिद्धान्त विहिन राजनैतिक दहरुका कारण व्यवस्था व्यक्ति केन्द्रित हुन्छ र राष्ट्रको सर्वोपरी हितलाई पाखा लगाईन्छ । साथै सामान्य जनमानसले सुचना तथा जानाकारीहरुलाई सही रुपमा विष्लेषण गर्न नसक्ने हुँदा जनतालाई भिडवादी राजनैतिक दलहरुले दिग्भ्रमित गर्न सफल हुन्छन । राजनैतिक सिद्धान्तको अभावमा भिडवादी दलहरुको निती तथा कार्यक्रम राज्यको वर्तमान नितीसंग समायोजन गर्न कठिनाई हुने हुँदा नयाँ निती तथा कार्यक्रमको निर्माणमा विरोधाभाष देखिन जान्छ । भिडवादी अर्थात पपुलिजममा आधारीत राजनैतिक दलहरुमा स्पष्टताको अभावले नेपाली जनताको आवश्यक्ताहरुलाई पर्याप्त रुपमा सम्बोधन गर्न नसक्ने र गलत नितीगत निर्णयहरु हुन सक्ने विषयलाई नकार्न सकिन्न ।

प्रचण्डको नयाँ सत्ता समिकरण संगै रास्वपा सरकारको प्रमुख हिस्सेदार भएको छ । यस अर्थमा रास्वपाको राज्य र जनता प्रतिको जिम्मेवारी र जवाफदेहीताको सवाल महत्वपूर्ण छ । तर यस राजनैतिक दलको भविष्य र कार्यक्षमतामा प्रश्न गर्ने प्रसस्त आधारहरु रहेका छन । लोकतन्त्रमा एउटा राजनैतिक दलको विकास र स्थापनाका लागी सर्तहरु भनेकै राजनैतिक सिद्धान्त, संगठन, कार्यकर्ता, र इमान्दारीता हो । तर रास्वपा यी चार वटै सवालमा चुकेको अवस्था छ । लोकतन्त्रको पहिलो अनिवार्य सर्त भनेकै राजनैतिक सिद्धान्त हो, जसले दलको भावि निती तथा कार्यक्रमलाई निर्धारण गर्न मद्धत गर्दछ तर नेपाली जनतालाई अझै सम्म यो दलको आगामी यात्रा तथा गन्तव्य के हो भन्ने विषयमा जानकारी छैन । यसर्थ निर्धक्क रुपमा भन्न सकिन्छ की यो राजनैतिक दल नितान्त भिडवाट निर्माण भएको हो । लोकतन्त्रमा जनताहरुलाई प्रश्न गर्ने अधिकार हुन्छ र राजनैतिक दहरुले जनताका हरेक सवालमा जिम्मेवारीपुर्वक जवाफ दिनै पर्छ । तर रास्वपाले स्थापनाको सुरुवात वाटै जनताका सवालहरुलाई गैरजिम्मेवार पुर्ण अभिव्यक्ति र व्यवहारवाट लत्याएको पाईन्छ । र केही विष्लेषकहरु भन्दछन की रास्वपा उसको व्यवहारवाट नितान्त व्यक्तिगत संगठन वा कम्पनी जस्तो मात्र देखिएको छ, जहाँ प्रश्न गर्ने र सहनशिल रुपमा जवाफ दिने अवसरलाई बन्चित गरिएको छ । जसले गर्दा जनताको आकाँक्षाहरुमा फेरी पनि ठेस लाग्ने सम्भावनालाई नकार्न सकिन्न ।

रास्वपा स्वाभावत एउटा संगठन विनाको राजनैतिक दल हो, अर्को शव्दमा भन्नु पर्दा कुनै गैरसरकारी संस्था जस्तै अरुलाई दोष देखाएर वा गालीगलौज गरेर जनमानसको भिडमा वाट उत्पन्न भएको शक्ति । यसरी कुनै आधार विना निर्माण हुने दलहरुमा शहरिया र सम्पन्नहरुको हालिमुहाली हुन्छ । रास्वपालाई एकपटक नियालेर हेर्ने हो भने हुनेखाने र सुकिलामुकिलाहरुको नेतृत्व रहेको समुह भन्दा फरक पटक्कै देखिंदैन । यसका सभापति रवी लामिछानेको वोली र व्यवहारलाई अवलोकन गर्ने हो भने पनि कतै तारतम्य मिलेको पाईन्न । त्यस्तै जव उनी राजनीतीमा प्रवेश गरे, तव देखी नै विभीन्न विवादहरुमा पर्दै नै आईरहका छन । पार्टीको संगठनमा भन्दा पनि उनी कसरी अन्य शहरीया र धनि मानीहरुलाई दलको जिम्मेवारीमा ल्याउने भन्नेमा वढी केन्द्रित भएको देखिन्छ । विश्लेषकहरु भन्दछन की यो दल प्रमुख रुपमा शहर केन्द्रित छ र शहरवाट बाहिर जाने सम्भावना छैन, किनभने यसको राजनैतिक संगठन भनेकै भिड हो र भिड सहर केन्द्रित हुन्छ ।

नेपालका अन्य राजनैतिक दलहरुले बिचार र सिद्धान्तलाई आधार वनाएर कार्यकर्ताहरुलाई केही हदसम्म भएपनि प्रशिक्षण गरेका छन । तर रास्वपासंग न विचार छ, न संगठन । यसका कार्यकर्ता भनेको एउटा भिड हो जो निति, विचार वा नेतृत्ववाट निर्देशित हुँदैन । ख्याल गरौ, यस्तो भिडले हाम्रो समाजलाई ठूलो क्षति पनि पुर्याउन सक्दछ । हामीहरु मध्ये धेरैलाई थाहा छ, सन २००० को रितिक रोशन काण्ड । एउटा सानो भन्दा सानो विषयले नेपालमा अशान्ति र धनजनको क्षती गराएको थियो । त्यसैले यो भन्न सकिन्छ की संगठन र कार्यकर्ता विनाको समुह नियन्त्रण भन्दा वाहिर हुन्छ । गएको दशकमा भिडको राजनीति विश्वव्यापी रुपमा मौलाएको पाईन्छ । जस्तो अमेरीकामा मेघा रिपव्लिकनहरु, जो राष्ट्रियता र अमेरीकन पहिलो भन्ने नारालाई अगाडी वढाएर आफ्नो स्वार्थ पुरा गर्न चाहान्छन । भारतमा मोदीवादीहरु कट्टर हिन्दुवादलाई प्रोत्साहीत गरेर, राजनितीमा आफ्नो वर्चस्व कायम गरीरहेका छन । र नेपालमा पनि यसको प्रभाव प्रघाड देखिंदैछ । चाहे केपी ओलीको राष्ट्रवाद होस वा नयाँहरुको नयाँ राष्ट्रवाद, यी सवै लोकतन्त्रकालागी घातक हुनेछन र नेपाली जनताको समृद्ध हुने चाहानाका वाधक वाहेक केही हुने छैनन ।

लोकतन्त्रको सवलिकरणको अर्को अनिवार्य शर्त भनेको इमान्दारीता हो । इमान्दारीतामा नेपालका सवै राजनैतिक दलहरु कुनै न कुनै तवरले चुकेकै छन र त्यसको नतिजा नेपाली जनताले भोग्नु परेकै छ । रास्वपा आफुलाई वैकल्पीक शक्तिका रुपमा दावा गर्दे आएको राजनैतिक दल हो । आफुलाई वैकल्पिक दावा गर्नेहरुले, अरुले चाही गर्न हुने हामीले थोरै गर्दा चै किन भनेर पन्छिन पाईदैन । दलका अध्यक्ष पटक पटक इमान्दारतिामा चुकेका मात्र हैनन उनका ओठे जवाफहरुले उनलाई भिडको नेताको रुपमा वाहेक अन्य तवरले स्थापीत गर्न सकेन । उनको जालसाजी पासपोर्टको मुद्धा होस वा सहकारी ठगीको सवाल होस । उनले नेपाली जनतालाई चित्त वुझ्दो उत्तर दिन सकेनन । कुनै पनि हालतमा स्वार्थको द्धन्द्ध रहेको मन्त्रालयमा जिम्मेवारी खोजीनुले पनि उनको इमान्दारीतामा प्रश्न गर्ने प्रशस्त आधार छन । त्यसै गरी उनको राजनैतिक दल भित्रका अन्य सदस्यहरुको विषयमा पनि बि भिन्न संका र प्रश्नहरु छन तर उनीहरु जवाफदेहिताको कसिमा खारीन सकेनन । जव वैकल्पिक भन्नेहरुले नै आफुलाई सर्वौपरी ठान्ने र प्रश्नहरुलाई पन्छाउँदै जाने हो भने जनताको विश्वासमा कुठाराघात त हुनेनै छ, साथसाथै नेपालको लोकतन्त्रले पनि अझै क्षति वेहोर्नु पर्नेछ ।

आजको विश्वमा लोकतन्त्रको सवालमा देखिएको प्रमुख खतरा भनेको पपुलिज्म अर्थात भिड र त्यसका आधारमा उदाएका लिडरहरु हुन, जसले राज्यका विद्यमान संरचना माथी धावा वोल्छन र संस्थाहरुलाई कमजोर वनाउँछन । पपुलिष्टहरुको एउटै नारा के हुने गर्दछ भने, वर्तमान नेतृत्व भनेको भ्रष्टहरुको नेतृत्व हो र हामी नयाँ अर्थात भिन्न राजनीतीक संस्कार सहितका राजनीतिक समुह हौ । तर वास्तविकतामा भने यिनीहरु मनसिक रुपमा नै भ्रष्ट र समाजलाई उद्धेलित गरेर आफ्नो स्वार्थ सिद्ध गर्नमा लालायीत हुन्छन । नेपालको सन्धर्वमा पनि केपी ओली, रवि लामिछाने देखी रविन्द्र मिश्रहरु यहि मार्काका राजनितीक चरित्र हुन भन्ने लाग्छ । बुझ्नु नै पर्ने अर्को पाटो के छ भने, भिडतन्त्रको उदय हुनुमा चैं पुरातनवादी दलहरुको वा संरचनाको असक्षमता नै प्रमुख कारण हो । आखिर जेसुकै कारण भएपनि पपुलिज्मवाट लोकतन्त्रले र राज्यले क्षति नै बेहुर्नु पर्ने भएकाले जिम्मेवार राजनैतिक दल वा नेतृत्वले जनतामा विश्वासको वातावरण बनाउँदै उदार लोकतन्त्रको लागी काम गर्नै पर्दछ । नेपालको दिर्घकालिन विकासका लागी भिडवाट खुलेका दुकानहरु समाधान हुन सक्दैनन, त्यसैले उचित निर्वाचन प्रणाली सकितको छिटो र छरितो सरकारको निर्माण आजको टड्कारो आवश्यक्ता हो ।

यो लेखको विषयवस्तु लेखकका निजि विचारहरु हुन र यसमा लेखक व्यावसायिक रुपमा आवद्ध संस्थाको कुनै संलग्नता छैन ।

प्रतिक्रिया