संघीयता गुणात्मक परिवर्तनको शासन प्रणाली हो : प्रचण्ड

इनेप्लिज २०७५ पुष २५ गते ११:५५ मा प्रकाशित

दलदले, २५ पुस । पूर्वप्रधानमंत्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको संघीयता शासन परिवर्तन मात्र नभएर गुणात्मक परिवर्तनको शासन प्रणाली भएको दाबी गरेका छन् ।

बुधवार बिहान देबचुली ११ कुुनाघाटमा बामपंथी नेता ठाकुर प्रसाद चापागाईलाई परेको मातृशोकमा समवेदना प्रकट गर्न आएका अध्यक्ष प्रचण्डले राणा शाशनवाट शाही शासन, शाही शासनवाट संबैधानिक राजसंस्था या बहुदलीय ब्यवस्था आएजस्तो मात्र नभएर एउटा नयाँ पद्धति र परिस्थिति बोकेर आएको दावी गरे ।

उनले संघीयताका चुनौतीका वारेमा बोल्दै यो प्रणालीले शान्ति र सम्बृद्धि दिन्छ वा बिकास र निर्माणलाई सम्वोधन गर्दै मुलुकलाई एउटा समृद्ध राष्ट्रमा वदल्न सक्छ त भन्ने प्रश्न अझै पनि रहेको र अर्कातिर एकथरी राजा महाराजाका पक्षपोषण गर्ने मानिसहरुको समूह यो परिवर्तन नचाहेको स्थिति नेपाली राजनितिको परिघटनामा देखिएको समेत बताए ।

करिब ४० वर्ष अगाडी पञ्चायती कालमा भूमिगत अवस्थामा आफू पूर्णकालीन राजनीतिमा लाग्दा नवलपरासीका ती गाउँहरुमा विताएको उनले स्मरण गरे । सो क्षेत्रमा भौतिक पूर्वाधारको अझ धेरै बिकास गर्ने, उद्योग धन्दा, कल कारखानाको बिकास गरेर रोजगारी सिर्जना गर्न आफूले केन्द्रबाट सघाउने उनले बताए ।

अध्यक्ष प्रचण्डले अब समृद्ध मुलुक निर्माणका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न र उत्पादन बृद्धि गर्ने अभियानमा यतिवेला आफूहरु रहेको बताएका छन् ।

प्रतिक्रिया