नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गर्दै तातोपानीमा प्रचण्ड र बादलको डुबुुल्की

इनेप्लिज २०७५ कार्तिक २७ गते १४:५० मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादर थापा बादलले नेपाली सेनाको हेलिकोप्टरको दुरुपयोग गरेका छन् ।

म्याग्दी र पर्वतका विभिन्न धार्मिक स्थल अवलोकन र भ्रमणका लागि निस्किएका प्रचण्डले परिवारसहित गृहमन्त्री बादललाई लिएर सेनाको एमआई १७ हेलिकोप्टर लिएर तातोपानी कुन्ड पुगेका थिए ।

तातोपानी कुण्डमा प्रचण्ड, बादल, प्रचण्डपत्नी सीता दाहाल, छोरी गंगासहितले डबुल्की मारेका थिए । कुनै विशेष कामबिना पारिवारिक र व्यक्तिगत भ्रमणका लागि सेनाको हेलिकोप्टरको प्रयोगलाई विभिन्न व्यक्तिहरूले दुरुपयोग गरेको बताएका छन् ।

एक जना कार्यक्रम प्रस्तोता तथा पत्रकार भुषण दाहालले ट्वीटरमार्फत प्रचण्ड र बादलको भ्रमणबारे टिप्पणी गरेका छन् । उनले लेखेका छन्,‘माफ गर्नुहोला कामरेडद्वय यहाँहरूको सुखसयलको दुश्मन होइन म तर यहाँहरूले पारिवारिक डुबुल्की लिन सेनाको एमआई १७ हेलिकोप्टर दुरुपयोग जुन गर्नु भो, सेनाले सहयोग स्वरुप पठाएको कि थर्काएरै उड्नुु भो ? जवाफ त दिन पर्ला नझर्किकन । ह्याप्पी स्पा कमरेडस् ।’

निजी काम र व्यक्तिगत सयलका लागि नेताले सेनाको मात्र होइन, सरकारी रकमको दुरुयोग गरेको विरोध गरिरहेका बेला प्रचण्डलगायतको टोलीको यो कामको धेरैतिरबाट आलोचना भएको छ । केहीले भने बचाऊ पनि गरेका छन् । तर धेरैले यस्तो कामलाई सत्ताको दुरुपयोग भनेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीको अवलोकन भ्रमण भनिए पनि प्रचण्डको यो व्यक्तिगत र पारिवारिक भ्रमणमात्र रहेको बताइएको छ ।

आफुलाई नास्तिक बताउँदै दशैंतिहारको टिका समेत नथापेका प्रचण्ड गोलेश्वर धामको अवलोकनका लागि पनि पुगेका थिए । बेलामौका विभिन्न ठाउँ घुम्न मन पराउने प्रचण्डले निजी भ्रमणका लागि सेना वा सरकारी सुविधाको प्रयोग नगरेको भए उचित हुने नेकपाका कतिपय नेताले पनि बताएका छन् ।

नेपाली सेनाले भने यस विषयमा कुनै प्रस्टोक्ति वा सहयोगका सन्दर्भमा केही बोलेको छैन । सैनिक जनसम्पर्क निर्देशनालयले यस विषयमा प्रतिक्रिया दिन चाहेन ।

प्रचण्ड बुधबार साँझ मात्र परिवारसहित काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया