सुत्केरीमैत्री अस्पताल नहुँदा..

इनेप्लिज २०७१ चैत २२ गते ४:३६ मा प्रकाशित

चरीकोट, २१ चैत । समयमै दक्ष उपचार नपाउँदा यहाँका धेरै सुत्केरीको ज्यान जाने गरेको छ ।

जिरीमा जिल्ला अस्पताल र सदरमुकाम चरीकोटमा प्राथमिक स्वास्थ्य केन्द्र मात्र रहेकाले समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०६७ देखि हालसम्म ३२ सुत्केरीको ज्यान गइसकेको छ ।

जिल्लामा सञ्चालित निजी अस्पतालको आर्थिक प्रलोभनमा परी बिरामीको अन्तिम अवस्थासम्म उपचार गर्ने र पछि राजधानी सिफारिस गर्ने प्रवृत्ति बढेकाले सुत्केरीको ज्यान जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा अर्जुन सापकोटा बताउनुहुन्छ ।

डा सापकोटाले सुत्केरीको बढी मृत्यु हुनामा निजी अस्पताल र सरकारी कार्यालय दुवै दोषी रहेको स्वीकार गर्नुहुन्छ । उहाँले प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गरी शल्यक्रियासहितको सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

मातृ मृत्युदर घटाउन सरकारले लाखौँ रुपैयाँ खर्च गरे पनि यहाँ बर्सेनि यतिका सङ्ख्यामा सुत्केरीको मृत्यु हुनु गम्भीर भएको स्थानीय बुद्धिजीवी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालनमा ल्याएको बर्थिङ सेन्टरमा आवश्यक पूर्वधार र दक्ष जनशक्ति छैनन् । जिल्ला स्वाथ्य कार्यालयले सेन्टरमा आवश्यक सम्पूर्ण पूवर्धार र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्नुपर्ने, सदरमुकाममा सुविधासम्पन्न सरकारी अस्पताल निर्माण गर्नुपर्ने र निजी अस्पताललाई कडाइका साथ अनुगमन गर्नुपर्ने सरोकार भएकाले बताउँदै आएका छन् ।

दुई दर्जन नवीकरण हुन बाँकी
जिल्लामा हाल १९ अस्पताल सञ्चालनमा छन् । यी सबै अस्पतालमा दक्ष जनशक्तिको अभाव त छँदैछ, आवश्यक पूर्वाधार पनि छैन । अधिकांश अस्पताल नवीकरण हुन बाँकी छ । नवीकरण हुन बाँकीमा गौरीशङ्कर जनरल अस्पताल, च्छोरोल्पा जनरल अस्पताल, दाहाल मेडिकल सेन्टर एन्ड पोलिक्लिनिक मैनापोखरी, दोलखा लायन्स आँखा केन्द्र र किर्ने स्वास्थ्य केन्द्रलगायत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया