अवैध अफिम नष्ट गर्दै प्रहरी

इनेप्लिज २०७१ चैत १९ गते ३:५३ मा प्रकाशित

Afim Kheti Nasta-2_1रुकुम, १९ चैत । गाउँगाउँमा गरिएको अवैध अफिमखेती नष्ट गर्न रुकुम प्रहरी सक्रिय भएको छ ।

जिल्लामा विभिन्न गाविसमा गरिएको खेतीबारे प्राप्त सूचनाको आधारमा प्रहरीले अवैध अफिम नष्ट गर्ने अभियान थालेको हो ।

हालसम्म तीन वटा गाविस स्यालापाखा, छिवाङ र सिम्ली गाविसका गरी झन्डै सवा आठ बिगाहा जमिनमा लगाइएको अवैध अफिम नष्ट गरिसकेको जानकारी प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले दिनुभयो ।

गत फागुन २८ गते स्यालापाखा गाविसबाट सुरु गरिएको अफिमखेती नष्ट गर्ने अभियान जारी रहेको उहाँले बताउनुभयो ।

पहिलो पटक यसरी अफिमखेती गरेका सबैलाई अब त्यसो नगर्न सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ । अर्को वर्ष पनि यसरी नै खेती गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिइरहेको प्रहरी निरीक्षक होमबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार २५ बोटभन्दा बढी अफिम लाउनेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय र रु २५ हजार नगद जरिवाना हुने कानुनी व्यवस्था छ भने १०० ग्राम अफिम बोक्नेलाई १५ वर्षदेखि आजीवनसम्मको कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया