धुरी – कविता

इनेप्लिज २०८३ असार १७ गते ९:५४ मा प्रकाशित

यो धुरी घरको होइन, गणतन्त्रको।
संविधानको प्रस्तावनामा लेखिएको “समाजवादउन्मुख” शब्दजालको धुरी।

धुरी काठको या बाँसको बिट मारेर बाँधिएको हुनुपर्छ।
यो कुरा कङ्क्रिट थुपार्नेहरूले बुझ्नुपर्छ।
बालुवा थुपार्नेहरू – घर बनाउँदा होस् वा पर्खाल बनाउँदा,
अर्बको आडमा होइन, जनताको जनमत पुगेर,
जननीतिमा टेकेर बोल्न सिक।

धुरीको आड लागेर पिलर फोर्ने,
आफ्नै बङ्गला ठड्याउनेहरूले बोकेको धुरीले
तिम्रै ढाड सेक्ला, विचार गर्ने गर।

धुरी उही छ।
तर धुरीमुनि थिचिएको मजदुर हौ कि मालिक,
त्यो पनि बुझ्ने गर।

खाडीको गर्मीमा पग्लिएको पसिना,
चुनावमा झुकिएको औँलो।
भोट दिएपछि भत्केको तिम्रो घर,
अनि “ऋण” सँग जोडिएको मनको पिलर
सबैलाई गहिरिएर सम्झ

सहकारीको पैसा सँगै त उडेको छैन?
एकपटक विचार गर।
धुरीको छायाँमा बसेकाहरूसँग सोध,
२०८२ भाद्र २३-२४ अघि र पछि नियालेर बोल्ने गर।

यो विष हो कि वैधानिक लुटको सत्य?
तथ्यको सकसभन्दा माथि उठेर बोल्ने गर।

धुरी चर्काउने हतियार
धुरी बझाउने र तर्साउने हतियारले:
बाँकोको विषको पहिचान गर।

“म क्षेत्री, मधेसी, म दलित” भनेर
धुरीकै इँटा उक्काउनेहरु हो,
विरासत बिर्सेर आफ्नै नाम लेख्नेहरूले
लेखेको इतिहास नै सत्य हो त?
एकपटक आफैँलाई प्रश्न गर।

जातको नाममा भोट माग्नेहरूले
जातकै नाममा विकास बेचे।
धुरी फुटाए र राष्ट्रको अस्तित्वमाथि धावा बोले,
तर तिमीहरू चुपचाप हरायौ किन?
सबैतिर हेरेर बोल्ने प्रयत्न गर।

“पढेर के गर्ने, यहाँ केही हुँदैन” भन्ने वाक्यको
विषले तिमीहरूलाई मुर्छित मात्र होइन,
सयौं पटक मरिसकेको भान गराउँछ।
तिम्रा व्यवहारले सयौं जिउँदाहरू
त्यसै मरेभन्दा अपराध लाग्दैन

धुरीमुनिका छोराछोरी देशै छोडेर उडे,
धुरीमाथिकाहरूले भविष्यको नक्सा हराइदिए।

धुरी जगाउन खोज्दा धुरी नै लच्कियो,
तन्कियो र भुमरीतिर तेर्सियो।
धुरीबाहिर पर्नेहरूले लेखाजोखा गर्ने साहस
देखाउन सकेका छैनन्।

संसदमा हात उठ्छ, तर प्रश्न गड्गडाउँदैन।
सञ्चारमाध्यमको उत्कृष्ट समाचार बन्छ,
तर ब्रेक भएको न्यायको कुरा आउँदैन।

औषधि
“निषेधको निषेध” होइन मात्र –
विचलनलाई निषेध गर्ने,
अराजकतालाई निषेध गर्ने,
वेथितिलाई निषेध गर्ने
सहमति र सहकार्यले
संगठन बनाएर अघि बढ्ने

धुरी बलियो बनाउने कङ्क्रिटले होइन,
विचार, लगन र संगठनभित्रको इमान्दारिताले।
छानो छाउने टायलले होइन, जवाफदेहिताले।

जबसम्म धुरी छेक्नेको साथमा कालो धन हुन्छ,
तबसम्म धुरीमुनि बस्नेहरूको
हातमा खाली कटौरा सरह हुनेछ।

हामी धुरीको फोटो खिचेर लाइक गर्छौं,
धुरीको चिरा टाल्न आफ्नो औँला प्रयोग गर्दैनौं।

धुरी हाम्रो हो। भाँचियो भने हामीमाथि नै ढल्छ।
अनि खप्पर पनि हाम्रै फुट्छ
धुरीको धुरो बलियो बनाउन डाँडाभाटा र जग बलियो बनाउनुपर्छ,
नत्र सलहहरु धुरा पसेर धुरी भत्कन्छ।
धुरी मात्रै भत्कँदैन
गाउँबस्ती नै उजाडिन्छ।

सीता ओझा

प्रतिक्रिया