
विचारको धरोहर
विचलन, अराजकता, वेथितिको द्वन्द्वात्मक विश्लेषण र जनजीविकाको समाधान
सैद्धान्तिक प्रस्तावना – धरोहरको वस्तुगत स्वरूप
विचारको धरोहर भावना मात्र होइन,
यो ऐतिहासिक भौतिकवादको वस्तुगत उत्पादन हो।
मार्क्सले भने – “सामाजिक अस्तित्वले चेतना निर्धारण गर्छ।”
समाजवादको धरोहर त्यही चेतनामा टेक्नुपर्छ –
उत्पादन सम्बन्धको वर्गीय चरित्र नाङ्गो पार्दै
जनजीविकासँग जोडिनुपर्छ।
जब आधारशिला डगमगाउँछ,
उपरिसंरचनाको आन्तरिक चित्रकला भत्किन्छ।
विचलन – सिद्धान्तबाट व्यवहारको पथभ्रष्टता
विचलन दुर्घटना होइन, यो वर्ग सम्झौताको परिणाम हो।
उत्पादनका साधनको सामाजिकीकरण भयो,
तर उत्पादनको उद्देश्य सामाजिक बन्न सकेन।
“सबैको लागि” भन्ने सिद्धान्तको नारा,
नारामै सीमित रह्यो।
“म र मेरो गुटको लागि” भन्ने अभ्यास चल्यो भने,
समाप्तिको बाटो निश्चित हुन्छ।
त्यही विचलन हो –
जब राज्य जनताको हातको औजार नभई,
नोकरशाही वर्गको निजी सम्पत्ति बन्छ।
अनि देशको दोहन अपरिहार्य हुन्छ।
अराजकता – संरचनाविहीन शक्तिको प्रदर्शन
अराजकता स्वतन्त्रता होइन, यो संरचनाको मृत्यु हो।
ग्राम्शीले भनेका थिए – “पुरानो मर्दैछ, नयाँ जन्मिन सकिरहेको छैन।
यही अन्तरालमा विकृत राक्षस जन्मन्छन्।”
आजको राजनीतिक अराजकता त्यही अन्तराल हो।
वैचारिक नेतृत्वको अभावमा नाराको होहल्लाले डंका पिट्यो।
संसद भवन विधि निर्माणको मन्दिर होइन,
कुर्सी कब्जाको कोलोसियम बन्यो।
वेथिति – अधिसंरचनाको सङ्कट
वेथितिको जरा आर्थिक आधारमै छ।
जब बजेट “पुँजी निर्माण” को सट्टा “उपभोगको वितरण” मा खर्च हुन थाल्यो,
जब शिक्षा “मानव पुँजी” बनाउनुको सट्टा “प्रमाणपत्रको कारखाना” तिर लम्कियो,
वेथिति अपरिहार्य भयो।
राज्यको प्राथमिक दायित्व “शान्ति, सुरक्षा र न्याय” को लिकबाट चिप्लिएर
“भत्ता र भ्रमण” मा सीमित भयो।
अनि देश र जनताको दोहन भइरह्यो।
द्वन्द्वात्मक समाधान – धरोहरको पुनर्स्थापना
मार्क्सको “निषेधको निषेध” बाटै बाटो निस्कन्छ।
पहिलो – आर्थिक आधारको पुनर्संरचना:
उत्पादक शक्तिको विकासबिना वितरणको कुरा मृगतृष्णा हो।
कृषिको आधुनिकीकरण, जलस्रोतको राष्ट्रिय उपयोग,
प्रविधिको लोकतान्त्रीकरण।
“स्वावलम्बी अर्थतन्त्र” धरोहरको पहिलो खुट्किलो हो।
दोस्रो – राजनीतिक उपरिसंरचनाको लोकतान्त्रीकरण:
लोकतन्त्र चुनाव मात्र होइन, यो दैनिक जवाफदेहिता हो।
सहभागितामूलक योजना, प्रत्यक्ष अनुगमन, फिर्ता बोलाउने अधिकार।
राज्यलाई “जनताको राज्य” बनाउन
राज्य संयन्त्रबाट नोकरशाही प्रवृत्तिको बहिर्गमन अनिवार्य छ।
तेस्रो – वैचारिक अधिसंरचनाको नवीकरण:
सिद्धान्तको धार्मिकीकरण गर्नु हुँदैन।
लेनिनले भनेका थिए – “सिद्धान्त कार्यदिशा हो, पवित्र ग्रन्थ होइन।”
विचलन, अराजकता, वेथितिको आलोचना गर्नु
धरोहरलाई इन्कार गर्नु होइन,
धरोहरलाई युगसापेक्ष बनाउनु हो।
उपसंहार – साहित्यिक टुङ्गो
धरोहर भनेको बाँसुरी हो दिदी,
बजाउनेको स्वास फेरिए बाँसुरीको धुन फेरिन्छ।
आज धुन बेसुरो भएको छ भने
बाँसुरी फोड्नु हुँदैन, बजाउनेको स्वास ठिक गर्नुपर्छ।
विचारको धरोहर मर्दैन,
मर्ने भनेको धरोहर बोकेर हिँड्नेको इमान्दारिता हो।
इमान्दारिता ब्युँतायो भने,
विचलन ठिक हुन्छ, अराजकता अनुशासित हुन्छ,
वेथिति इतिहासको फुटनोटमा सीमित हुन्छ।
सीता ओझा
प्रतिक्रिया