कविता -अब के हुन्छ ?

सीता ओझा २०८३ असार ९ गते ९:४५ मा प्रकाशित

सिंहदरबारको झ्यालबाट उज्यालो छिरेन भने
कागजको थुप्रोमा जनताको सपना जोगिन्न
भाषण छोटो,कामको हौवा छोटो भएपनि हैकमवादी सोचको दम्ब भरिन्छ
बल्ल बल्ल पाएको स्वतन्त्रताको बाटोमा संकटतिर मोडिन्छ

आजकाल
सबैले “जनता ठुला” भन्छन्, तर कुर्सी ठुलो भएको बुझेनन्
भोटमा झुक्ने र जितपछि बिर्सने गर्न पनि छोडेनन्
भूमिहिन,रोगीविरामी र असक्तको साहारा होइन नुनचुक दल्न पो छोडेनन्

शिक्षकको अपमान,हेलाँहोचोले समय विताउन छोडेनन्
विद्यालयको छाना चुहिएको हेर्दाहेर्दै सुनले मन्दिरको गजूर र लेपन गर्न छोडेनन्

अहिले
धरपकडको बेला आयो
प्रश्न सोध्नेको मुख बन्द
कलम समाउनेको हात बाँध
सडकमा निस्केको आवाजलाई
“अराजक” हरुले छेके र
भोकले लेखेको पत्रलाई कसैले सोध्दैनन्

हिरासतको चिसो भित्ताले छक्क परेर सोधिरहेछ
तिमी कहाँ थियौ? कसरी यहाँ पुग्यौ ?
कैदी को हो ? पत्तो छैन,

जब आमाले भन्छिन् – “मेरो छोरो चोर होइन, चोर भनेर सोध्ने हो ?”
भित्रभित्रै लाठीको आवाज सुनिन्छ,
धरपकडले डर होइन, क्रान्ति जन्माउँछ।

अब कुर्सी होइन, जिम्मेवारी सम्झ
मालिक होइन,सेवक बन,
कागज होइन, खेत खन,आली लगाउ
बीउ र बालीको जतन गर

अब पार्टी होइन, पुस्तान्तरण सोच
प्रतिशोध होइन,हार्दिकताविचको कार्यगत एकता खोज
पाँच वर्षको लागि होइन, स्वर्णकाल बनाउने नीति सोच
जनताले सोधेँ जवाफ देऊ,
तिम्रो भाषणमा जनताको ओजस्वी स्नेहको लेपन होस –

हरेक पटक
कुम्भको शनि जस्तै यो देशले पनि परीक्षा दिइरहेको छ,
साढेसाती लामो भएपनि राजयोग देखिन्छ
त्यसैविच
जनताले सोधिरहेछन्
“अब के हुन्छ ?
कुरा होइन, काम गरिदेऊ।
फुटको होइन,एकताको सन्देश देउ”

सधैं मौसमको तुवाँलो हट्यो भने
स्वयम्भू देखिन्छ,
नेतामा भएको लोभ घट्यो भने नेपाल लेखिन्छ ।
धरपकडले सम्पत्तिको सुध्धिकरण हुँदैन, विचार छेकेर छेक्न सकिन्न
समाधान भनेको गिरफ्तार होइन,प्रकृयागत सुधार हो।

अब के हुन्छ ?
हामीले सोध्ने छाड्यौं भने केही हुँदैन,
सोधिरह्यौं भने एक दिन सबै हुन्छ।
त्यसमा डर हुँदैन,
मात्रै निरन्तरताको प्रकाशको उज्यालो हुन्छ, अँध्यारो सदाका लागि सकिन्छ ।

प्रतिक्रिया