कविता प्रकृति र विज्ञान

इनेप्लिज २०८३ असार ३ गते १०:०९ मा प्रकाशित

प्रकृति
म हुँ आमा,
नपढे पनि अक्षर सिकाउँछु।
बिनाकोड मौसम बनाउँछु।
बिनास्विच सुर्योदय गराएर पानी झार्छु॥

विज्ञान
हाँस्छ अनि भन्छ, म हुँ छोरा,
आमा ! तिम्रै काखमा बसेर रहस्य चिर्दैछु।
सुर्यको तापको आगो नाप्छु, बादलको गणित पढ्छु ।
अदृश्यलाई पनि दृश्यमा देखाउने ऐना बनाउँछु॥

प्रकृति भन्छ:
मेरा जरा माटोमा,
सास फूलमा,धड्कन नदीमा।
तँ मैले बनाएको मान्छे
मेरै विरुद्ध हतियार बनाउँछस् ?
रुख काटेर कागज बनाउँछस्
अनि त्यो कागजमा मेरो मृत्यु लेख्छस्॥

विज्ञान टाउको निहुराउँछ:
आमा, तिमीलाई बुझ्न नसकेर त
यो मेसिन बनाएको हुँ ।
तिम्रो जराको कुरा डीएनएमा खोज्छु।
तिम्रो धड्कनको ताल ईसीजी र एमआर आइमा देख्छु।
म हतियार होइन आमा,
तिम्रो आवाजलाई आवाजमा बदल्ने औजार बनाउने छोरा हुँ॥

बाबु :
मनुष्यले आफुलाई चिनेन
आमाको माया लिन र दिन जानेन
अनि मेरो छोराको आविष्कार कसरी चिनोस्

त्यो मुर्ख ! प्रकृतिलाई शोषण गर्छ, विज्ञानलाई दोष दिन्छ।
ओजन फुटाउँछ, तापमान बढाउँछ
अनि छाता ओडेर सूर्यलाई गाली गर्छ॥

हेर मुर्ख!
प्रकृतिबिना विज्ञान अपुरो छ – प्रयोगशालामा औजार सकिएर रितिए झैं
विज्ञानबिना प्रकृति मौन हुन्छ – भाषा र साहित्य बुझ्ने अर्को वस्तु नभएर

त्यसैले
दुवैले झगडा नगर,
आमा र छोराको हात जोडियो भने
पृथ्वी स्वर्ग बन्छ,
नत्र प्रयोगशाला र मरुभूमि मात्र बाँकी रहन्छ॥ ✨

सीता ओझा

प्रतिक्रिया