
पिलरको गद्धारी गर्ने ठालुहरु हो,
सुन लौ ! माटोको गर्जन।
मसी चाटेर नक्सा ओछ्याउनेहरू दलालहरु हो
तिम्रो मसीभन्दा कालो छ पापको वर्ण॥
कलमको लस्कर लगाएर,
बाजेको सिनो कुर्नेहरू!
लज्जा खोज ! ब्वासाहरु हो ,
शहीदको रगतले नुहाएको देशलाई
टेबलमा राखेर लिलाम गर्नेहरू॥
कालापानी भन्छौ – “यो तिनीहरूको होइन”,
लिपुलेक भन्छौ – “त्यो हाम्रै हो।”
हिमाल चुप छ तिम्रो मूर्खतामा,
किनकि हिमाललाई थाहा छ –
तिमीले साँगुरियाएको नक्सा मरे पनि
हिमाल र पहाडहरु मर्दैनन्॥ 🏔️
हरेक पटक पिलर गाड्छौ अनि सार्छौ
सिमानाको कहर छिचोलेर,
देश बेच्ने गन्धले संसद मात्रै होइन
सदन नै दुषित भयो,तर
जनताको सासले तिमीहरुप्रति मुर्दावाद
सुरक्षा फौज भूमिका देखाउँदैन?
जब तिम्रो कुर्सी ढल्नेछ।
अनि सिरानीको खुकुरीले
तिमीहरुलाई कुरीरहेको छ॥
हिजो पुर्खाको रगत र पसिनाले लेखिएको इतिहास,
आजको सत्ताका भोकले भेट्दैनन्।
किनकि इतिहासले सजाय दिन्छ।
तिम्रो नाम कालो अक्षरमा लेख्नेछ॥
सिमानाको कुरा गेरेर
सन्धि च्यात्न,नयाँ कागज बनाउन सक्छौ ?
कुर्सीको सन्धि गर्दागर्दै देशै बेच्ने दाउ गर्दैछौ ?
जनताको आक्रोशको आँधी आयो भने,
त्यो कुर्सी मात्र होइन, तिम्रो वंश नै उड्नेछ॥
सुन लुट, नदी बेच, बाँध बाँध,
पिलर जतिसुकै सार।
तर याद राख दलाल हो!
नेपालीको छाती पिलरभन्दा अग्लो छ,
तिम्रो दाउपेचभन्दा शक्तिशाली छ।
एकमुठी माटोको लागि,
यो देशको प्रत्येक ढुङ्गा ढाल बन्नेछ॥
देश बेच्ने जल्हाद्धहरु हो
रेखा तिम्रो कागजमा छ,
रगत र खुकुरी हाम्रो मुटुमा छ।
सीमा तिम्रो स्वार्थले तानेको हो,
देश हाम्रो साँसमा बसेको छ।
र यो साँस बन्द हुने छैन,
जबसम्म अन्तिम नेपाली जीवित छ॥ 🇳🇵🔥
सीता ओझा
प्रतिक्रिया