कविता – म बेचिएँ

इनेप्लिज २०८३ जेठ २६ गते २३:०९ मा प्रकाशित

म बेचिएँ,
म बेचिएँ खुलेआम लिलामीमा,
मुलाको सागको अवमूल्यन जस्तै
मोलतोल भयो मेरो – सुकिला दरबारमा।
खरिदकर्ता मुस्कुराए,
रसिद काटे “राष्ट्रिय विकास”
मेरो पसिनाको मूल्य राखे –
“तिम्रो त्याग, हाम्रो डलर” भनेर

GDP बढ्यो रे, टीभीमा
पटाका पड्काएर
तर आमाले उपचारको विल तिर्न सकिनन्
कुलोको पानी जस्तै स्वार्थ बग्यो,
बजारको भाउ उक्लियो,
मेरो पेट खुकुलियो,
छोराले शुल्क तिर्न आफ्नै पुस्बेतक बेच्यो।
गरीबको भाँडो खाली छ,
धनीको दराज भरियो,
मजदुरको हातमा कलस,
नेताको हातमा ताला – वाह, कस्तो मेला!
पसिना मेरो,
पासवर्ड उनीहरूको –

सिंहासन गलेको छैन,
चुसेको चुइगमले टाँसेको छ –
वाचा उही, नारा उही, स्टिकर नयाँ छ।

आज यो पार्टी, भोलि त्यो गठबन्धन,
पर्सी “राष्ट्रिय सहमति”,
आधारातमै सरकार फेरिन्छ, जनताको निद्रा उड्छ – “लोकतन्त्रको गति”।
जनजिविकाको समस्या?
“अर्को बैठकको एजेन्डा” रे,
संसदमा हल्ला, सडकमा आँसु,
निर्णय हुँदैन –
केवल “विज्ञप्ति “

गोजी रित्त्चियाउँदै चिया पसलमा
हाम्रा टिप्पणी र ताली,
खेलाडीहरूको लुछाचुँडी,
देश बिग्रियो भनेर हेरिने ऐनामा
आफ्नै चाउरी

मेरो आँगन अरूले जोत्छन्,
म टुलुटुलु हेर्छु,
छापिएको नक्सा रगतले पोतिन्छ,
मसी रगतभन्दा सस्तो छ,
सीमामा बसेको सिपाही सोध्छ –
“यो गाउँ कसको रे? नक्सामा खोज त।”
लिपुलेक, कालापानी, सुस्ताको माटो,
मेरो पुर्खाको रगतले कोरेको,
धर्तीको निधारमा टिका हो
वार्ताको टेबल छलफल गर

म बेचिएँ
लाजले होइन – बाध्यताले,
इज्जतले होइन – भोकले।
सपनाले होइन – कर्जाले।
अझै किन्छौ तिमी मलाई?
म सस्तैमा बेचिइन्छु,
मेरो ठाउँमा तिम्रो छोरालाई राखेर
“राष्ट्रिय सेवा” गरायौ भने मात्र
मुल्य थाहा पाउँछौ

जबसम्म माटो भेटिँदैन, नक्सा पूरा हुँदैन,
कुर्सी स्थिर नहुँनजेल गरीबको भाँडो भरिँदैन,
तबसम्म “म बेचिएँ” को गीत सकिँदैन,

कलमले “रगत” भनेर अक्षर लेख्यो,
कागजले सहिदियो,
नेताले “देशद्रोह” भने, जनताले “साँचो बोले “
भनेर ताली ठोके
म बेचिएँ… तर देश बेच्न दिएको छैन,
किनकि माटो मेरो पहिचान हो, सास हो,
अन्तिम साससम्मको माटोको ऋण हो

सीता ओझा

प्रतिक्रिया