
वासिङ्टन, डिसी अमेरिका । अमेरिका र इरानबिच भर्खरै भएको एउटा महत्त्वपूर्ण शान्ति सम्झौता (युद्धविराम) संकटमा परेको छ। इरानले समुद्रमा सामान ओसारपसार गर्ने एउटा व्यापारिक जहाजमाथि मानव रहित यान (ड्रोन)बाट खतरनाक आक्रमण गरेपछि, अमेरिकी सेनाले शुक्रबार इरानभित्र रहेका उसका सैन्य ठेगानाहरूमा शक्तिशाली बमबारी गरेको छ।
गएको हप्ता मात्रै यी दुई देशबिच ६० दिनसम्म आपसमा लडाइँ नगर्ने सहमति भएको थियो। तर, यो सम्झौता भएको केही दिनमै इरानी सेनाले ‘स्ट्रेट अफ हर्मुज’ भन्ने समुद्री मार्गमा सिङ्गापुरको झण्डा राखिएको एउटा ठुलो मालवाहक जहाजमाथि मानव रहित यान (ड्रोन )प्रहार गर्यो। आक्रमणबाट जहाजको अघिल्लो भागमा क्षति पुगे पनि भाग्यवश कोही मानिस घाइते भएनन् र समुद्रमा तेल वा रसायन पोखिएर वातावरणमा पनि ठुलो असर परेन।
इरानको यो हर्कतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा “मूर्खतापूर्ण गल्ती” भन्दै कडा चेतावनी दिएका थिए । पत्रकारहरूले ‘अब इरानले यसको के सजाय पाउँछ?’ भनी सोध्दा, राष्ट्रपति ट्रम्पले “छिट्टै थाहा पाउनुहुनेछ” भन्ने जवाफ दिएका थिए ।
त्यसको लगत्तै, अमेरिकी केन्द्रीय कमाण्डले इरानको ‘केस्म टापु’ र समुद्री किनारमा रहेका क्षेप्यास्त्र जम्मा गर्ने ठाउँ, मानव रहित यान भण्डार र राडार केन्द्रहरूमा आफ्ना लडाकु विमानहरूबाट भीषण आक्रमण गरेको छ । अमेरिकी सेनाले यसलाई इरानको खतरनाक व्यवहारको विरुद्धमा दिएको “शक्तिशाली जवाफ” भनेको छ।
यो नयाँ तनावले गर्दा सो समुद्री क्षेत्रमा फसेका सयौँ अन्य जहाज र हजारौँ चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकाल्ने संयुक्त राष्ट्र सङ्घको प्रयास पनि तत्कालका लागि रोकिएको छ।
लामो समयदेखि बन्द रहेको यो समुद्री बाटो खुला गरेर शान्ति कायम गर्ने विश्वकै प्रयासमा यस घटनाले ठुलो धक्का पुर्याएको छ।
प्रतिक्रिया