
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनमार्फत नेपाली राजनीतिमा एक नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ।
चितवनमा सम्पन्न महाधिवेशनबाट संस्थापक रवि लामिछाने पुनः निर्विकल्प सभापतिमा निर्वाचित भएका छन् ।
तर, यो महाधिवेशनको सबैभन्दा सुखद र चर्चाको विषय भनेको दलको केन्द्रीय कार्यसमितिमा महिलाहरूको अतुलनीय सहभागिता हो।
इतिहासमै पहिलो: आधा आकाश ओगट्ने महिलाको उदय
निर्वाचित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ४९ जना महिला निर्वाचित भएका छन्, जुन कुल संख्याको ४९.४९ प्रतिशत हो।
नेपाल मात्र होइन, सायद विश्वकै राजनीतिक इतिहासमा कुनै पनि प्रमुख राजनीतिक दलको केन्द्रीय समितिमा महिलाको यति उच्च र अर्थपूर्ण प्रतिनिधित्व भएको यो पहिलो पटक हो। विशेष गरी सात प्रदेशबाट निर्वाचित ३५ सदस्यमध्ये २९ जना महिला (८२.८६ प्रतिशत) विजयी हुनुले रास्वपाले लैंगिक समानताको विषयलाई केवल नारामा मात्र होइन, व्यवहारमा उतारेको स्पष्ट हुन्छ।
नेतृत्वको अबको परीक्षा
अब सभापति लामिछानेले थप ५१ जना सदस्य मनोनित गर्न बाँकी छ। दलको विधानअनुसार सभापतिलाई सवल, भौगोलिक सन्तुलन र समानुपातिक प्रतिनिधित्व गराई नेतृत्व चयन गर्ने जिम्मेवारी छ। अब मनोनित गरिने सदस्यहरूमा महिलाको हिस्सा कति रहन्छ, त्यो भने चासोको विषय बनेको छ। रास्वपाको यस कदमले विश्वभरका राजनीतिक दलहरूलाई महिला नेतृत्व र समावेशिताका लागि नयाँ प्रेरणा दिने निश्चित छ।
मनीष झाको उदाहरणीय लोकतान्त्रिक संस्कार
यसैबीच, दलको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका नेता मनीष झाले देखाएको परिपक्वताले सबैको मन जितेको छ। महामन्त्रीमा विपिन आचार्यसँग पराजित भएपछि झाले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरेका छन् ।
झाले सामाजिक सञ्जालमार्फत भनेकै छन् ,मेरो उम्मेदवारी दलमा ‘टिके प्रथा’ र गुटबन्दी अन्त्य होस् भन्ने एउटा प्रयास थियो।” उनले नवनिर्वाचित महामन्त्री आचार्यलाई बधाई दिँदै आफ्नो अनुभव र क्षमताले पार्टीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अब उनि एक सांसद र केन्द्रीय सदस्यका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछन् ।
रास्वपाको यो महाधिवेशनले एकातिर लैंगिक समानताको नयाँ उचाइ चुमेको छ भने अर्कोतिर प्रतिस्पर्धालाई सहर्ष स्वीकार गर्ने स्वस्थ राजनीतिक संस्कारको थालनी गरेको छ।
प्रतिक्रिया