रुसका १२ क्षेत्रमा युक्रेनको अहिलेसम्मकै ठूलो मानव रहित यान(ड्रोन )हमला

इनेप्लिज २०८३ असार १२ गते १४:१३ मा प्रकाशित

युक्रेनले रुसका १२ वटा क्षेत्र, रुसको कब्जामा रहेको क्राइमिया र वरपरका समुद्री इलाकाहरूलाई लक्षित गरी अहिलेसम्मकै ठूलो मानव रहित यान( ड्रोन )हमला गरेको छ। 

रुसको रक्षा मन्त्रालयले शुक्रबार यो जानकारी दिएको हो। चार वर्षभन्दा लामो समयदेखि चलिरहेको यो युद्धमा युक्रेनद्वारा गरिएको यो सबैभन्दा शक्तिशाली हवाई हमलामध्येको एक मानिएको छ।

रुसको रक्षा मन्त्रालयका अनुसार उनीहरूको हवाई सुरक्षा प्रणालीले रातभरिमा ६६० वटा युक्रेनी मानव रहित यान(ड्रोन)हरुलाई खसालेको दाबी गरेको छ।

 यसअघि मे १७ मा ५५६ वटा ड्रोनहरू प्रयोग गरेर युक्रेनले आक्रमण गरेको थियो, जुन त्यस समयको सबैभन्दा ठूलो हमला थियो। तर, यस पटक त्यो किर्तिमान पनि तोडिएको छ।

युक्रेनले लामो दूरीसम्म मार हान्न सक्ने मानव रहित यान(ड्रोन)हरुको विकासमा निकै जोड दिइरहेको छ। 

आफ्नो देशमाथि भइरहेको रुसी आक्रमणको जवाफ दिन र रुसको युद्ध क्षमतालाई कमजोर बनाउन युक्रेनले यस्तो रणनीति अपनाएको हो। 

यी ड्रोनहरूले विशेष गरी रुसको तेल उत्पादन केन्द्र र ऊर्जा संयन्त्रहरूलाई निशाना बनाइरहेका छन्। पश्चिमी अधिकारीहरू र विश्लेषकहरूका अनुसार, यस्ता हमलाले रुसको इन्धन आपूर्तिमा अवरोध पुर्‍याएको छ र सैन्य सामग्री ढुवानीमा ढिलाइ भएको छ। 

यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि ठूलो दबाब सिर्जना गरेको छ।हमलापछि रुसबाट क्षतिको आधिकारिक विवरण भने खासै सार्वजनिक गरिएको छैन। 

एपिका अनुसार रुसी रक्षा मन्त्रालयले प्रायः कस्ता ठाउँमा आक्रमण भयो वा कति क्षति भयो भन्ने जानकारी दिँदैन। 

यद्यपि, रुसको स्वतन्त्र बिधुतिय(अनलाइन )समाचार संस्था ‘अस्ट्रा’ ले नोवोमोस्कोभस्क सहरमा रहेको एक रासायनिक कारखाना र जलविद्युत केन्द्रमा आक्रमण हुँदा आगो लागेको खबर दिएको छ। यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यसैगरी, मस्कोका नगर प्रमुख सर्गेई सोब्यानिनले मस्कोतर्फ आइरहेका ४७ वटा मानव रहित यानलाई राजधानी बाहिरै खसालिएको जानकारी दिएका छन्। उनले कुनै मानवीय क्षति वा ठूलो क्षति नभएको बताएका छन्। 

प्रतिक्रिया