
भेनेजुएलामा बुधबार आएका दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको कूल संख्या कम्तीमा २३५ पुगेको छ भने ४,३०० भन्दा बढी मानिस घाइतेभएका छन्। यो जानकारी भेनेजुएलाका स्वास्थ्यमन्त्रीले सरकारी सञ्चारमाध्यममार्फत दिएका हुन्।
भूकम्पपछि धेरै भवनहरू भत्किएका छन् र सयौं मानिस अझै भग्नावशेषभित्र फसेको आशंका गरिएको छ। उद्धारकर्मीहरू दिनरात खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्।
भूकम्पले राजधानी कराकास नजिकका धेरै क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको छ। विशेषगरी ला गुआइरा राज्यको काटिया लामार क्षेत्रमा धेरै भवनहरू ढलेका छन्। स्थानीय बासिन्दा र उद्धार टोलीले भग्नावशेष हटाएर जीवित तथा मृतकको खोजी गरिरहेका छन्। घाइतेहरूलाई अस्पताल पुर्याउने काम पनि तीव्र रूपमा भइरहेको छ।
यस कठिन समयमा अमेरिकी दक्षिणी कमाण्ड(साउथकम)ले राहत तथा उद्धार कार्यलाई सहयोग गर्न आफ्नो सैन्य शक्ति तीव्र रूपमा परिचालन गरेको छ। अमेरिकाले दुई नौसैनिक जहाज, यातायात विमान तथा उदग्र्बिमान (हेलिकप्टर भेनेजुएला)तर्फ पठाएको छ। एबिसीन्यूजका अनुसार राहत सामग्री, उद्धारकर्मी र आवश्यक उपकरण छिटो पुर्याउन २ वटा जहाजलाई प्रभावित क्षेत्र नजिक सारिएको छ ।
साउथकमका अनुसार यी सैन्य साधनहरूले अमेरिकी सरकारी कर्मचारी, खोज तथा उद्धार टोली र अन्य साझेदार संस्थालाई क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न, घाइतेको खोजी गर्न तथा जीवन बचाउने अत्यावश्यक सहायता पुर्याउन सहयोग गर्नेछन्।
यसैबीच, अमेरिकी रक्षा बिभागले राहत अभियानको नेतृत्व गर्न अमेरिकी मरीन मेजर जनरल (उपरथी)केभिन जारार्ड लाई भेनेजुएला पठाएको छ। उनले अमेरिकी विदेश बिभागसँग समन्वय गर्दै उद्धार तथा राहत कार्यको निगरानी गर्नेछन्।
अमेरिकाका भर्जिनियाको फेयरफ्याक्स काउन्टी र क्यालिफोर्नियाको लस एन्जलस काउन्टीबाट विशेष शहरी खोज तथा उद्धार टोली ( पनि परिचालन गरिएको छ। फेयरफ्याक्स टोलीमा ८० जना उद्धारकर्मी र ६ वटा तालिमप्राप्त उद्धार कुकुर रहेका छन् भने लस एन्जलस टोलीमा ७१ जना उद्धारकर्मी र ६ वटा उद्धार कुकुरसहभागी हुनेछन्। यी कुकुरहरू भग्नावशेषभित्र फसेका मानिस पत्ता लगाउन विशेष रूपमा तालिमप्राप्त हुन्छन्।
अमेरिकी विदेश बिभागले भेनेजुएलाका लागि १५ करोड अमेरिकी डलर (१५० मिलियन डलर)बराबरको राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। साथै, सहायता सामग्री प्रभावकारी रूपमा वितरण गर्न विशेष कार्यदल पनि गठन गरिने बताइएको छ।
भूकम्पपछि हजारौं परिवार घरबारविहीन भएका छन्। खानेपानी, खाद्यान्न, औषधि र अस्थायी आश्रयको आवश्यकता बढ्दै गएको छ। उद्धार कार्य अझै जारी रहेकाले मृत्यु र घाइतेको संख्या थप बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।
प्रतिक्रिया