अमेरिकाको पहिलो हार: रोमान्चक खेलमा टर्कीसँग ३-२ ले पराजित, तर अघिल्लो चरणको यात्रा सुरक्षित

इनेप्लिज २०८३ असार १२ गते १०:१८ मा प्रकाशित

२०२६ विश्वकप भकुण्डो प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको एक निकै रोमान्चक खेलमा आयोजक अमेरिका टर्कीसँग ३-२ गोल अन्तरले पराजित भएको छ। जारी विश्वकपमा अमेरिकाको यो पहिलो हार हो। खेल हारे पनि अमेरिकी टोलीका लागि दुःख मनाउनुपर्ने अवस्था रहेन किनभने यसअघिका दुई खेल जितेर अमेरिका पहिले नै सुरक्षित रूपमा अर्को चरण (राउन्ड अफ ३२) मा पुगिसकेको छ।

क्यालिफोर्नियाको सोफाइ रंगशाला( स्टेडियम)मा भएको यस खेलमा अमेरिकाले सुरुमै, अर्थात् तेस्रो मिनेटमै गोल गरेर अग्रता लिएको थियो। तर, टर्कीले तुरुन्तै गोल फर्कायो। खेलको अन्तिम समयसम्म दुवै टोली २-२ को बराबरीमा थिए। खेल सकिनै लाग्दा थपिएको समयको (इन्जुरी टाइम) आठौँ मिनेटमा टर्कीका कान आयहानले उत्कृष्ट गोल गरे र टर्कीलाई ३-२ को रोमान्चक जित दिलाए। टर्की प्रतियोगिताबाट बाहिरिइसकेको भए पनि यो जित उसका लागि प्रतिष्ठाको लडाइँ थियो।

यसअघि अमेरिकाले अस्ट्रेलियालाई २-० र पाराग्वेलाई ४-१ ले हराएको थियो। अमेरिकाका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले यस खेलमा आफ्ना ९ जना मुख्य खेलाडीलाई आराम दिएर नयाँ खेलाडीलाई मैदानमा उतारेका थिए। खेलको ५८ औँ मिनेटमा चोटमुक्त हुँदै चर्चित खेलाडी क्रिस्टियन पुलिसिक मैदान छिरेपछि खेल अझै रोमाञ्चक बनेको थियो। खेल विज्ञहरूका अनुसार मुख्य खेलाडी नहुँदा अमेरिकी टोली अलि कमजोर देखिएको थियो।

यो खेल परिणामका हिसाबले अमेरिकाका लागि खासै महत्वपूर्ण नभए पनि रंगशालामा उपस्थित हजारौँ दर्शकको उत्साह भने हेर्नलायक थियो। अब अमेरिकाले आउँदो बुधबार ‘राउन्ड अफ ३२’ अर्थात् मा बोस्निया-हर्जगोभिनाको सामना गर्नेछ।

यदि त्यहाँ अमेरिका विजयी भयो भने टोली ‘राउन्ड अफ १६’ मा पुग्नेछ। अमेरिकी टोलीको यो दमदार सुरुवातले देशभरिका भकुण्डो प्रेमीहरूलाई निकै उत्साहित बनाएको छ।

प्रतिक्रिया