“इरानले कहिल्यै आणविक हतियार बनाउन पाउने छैन,”–ट्रम्पको चेतावनी

इनेप्लिज २०८३ असार १२ गते १०:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अहिले इरानसँग निकै बलियो र शक्तिशाली स्थानमा रहेर वार्ता गरिरहेको बताएका छन् । बिहीबार साँझ ह्वाइट हाउसको ‘रोज गार्डन’ सभाकक्षमा अमेरिकी किसानहरूसँगको एक रात्रीभोजका क्रममा उनले यस्तो कुरा बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने , “हामीले उनीहरूलाई (इरानलाई) नराम्रोसँग धक्का दियौँ। त्यसैले अहिले हामी एकदमै बलियो अवस्थामा रहेर कुराकानी गरिरहेका छौँ र यो कुरा इरानलाई राम्रोसँग थाहा छ।” उनका अनुसार इरान अहिले अमेरिकासँग सम्झौता गर्न निकै हतारिएको छ। तर, ट्रम्पले इरानलाई कुनै पनि हालतमा ‘आणविक हतियार’ बनाउन नदिने अडान दोहोर्‍याएका छन् । ट्रम्पले इरान पनि यो कुरामा सहमत भइसकेको दाबी गरे ।

यसका साथै, संसारकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ हर्मुज जलडमरु खुला रहेको जानकारी पनि उनले दिए ।

अहिले इरानमा खानेकुराको निकै अभाव र समस्या भइरहेको छ। यस्तो अवस्थामा ट्रम्पले इरानलाई अमेरिकी किसानहरूका लागि एउटा नयाँ बजार बनाउन सकिने योजना सुनाए । इरानकै पैसा प्रयोग गरेर अमेरिकाबाट गहुँ, भटमास र मकै जस्ता खाद्यान्नहरू इरान पठाइने ट्रम्पले बताए । यसले गर्दा अमेरिकी किसानहरूलाई फाइदा हुने र इरानको खाद्य संकट पनि टर्ने ट्रम्पको विश्वास छ।

प्रतिक्रिया