
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज समापन हुँदैछ। महाधिवेशनबाट चुनिएका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूले आजै शपथ ग्रहण गर्दैछन्। महाधिवेशन आयोजक समितिका अनुसार नयाँ विजयी नेताहरूको शपथ ग्रहण कार्यक्रम आज साँझ ६:३० बजे तय गरिएको छ र सबै निर्वाचित सदस्यहरूलाई समयमै उपस्थित हुन भनिएको छ।
गत आइतबारदेखि चितवनमा सुरु भएको यो महाधिवेशनले यहाँको राजनीति मात्र तातो बनाएको छैन, स्थानीय व्यापार व्यवसायमा पनि ठूलो चहलपहल ल्याएको छ। महाधिवेशनका कारण चितवन र आसपासका क्षेत्रमा झण्डै ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ।
देशभरबाट आएका दलका प्रतिनिधि, हेर्न आउने मानिस (पर्यवेक्षक) र शुभचिन्तकहरूका कारण चितवनका अतिथिगृह , चमेनागृह र पर्यटकीय ठाउँहरू निकै व्यस्त बनेका थिए।
गत शनिबारदेखि नै यहाँका पाहुनाघर (होटल)हरू मानिसहरूले भरिएका थिए। व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार एकै दिन २० हजार जनासम्म मानिसहरू चितवनमा बसेका थिए।
ती मानिसहरूले बस्न र खानका लागि मात्रै झण्डै २० करोड रुपैयाँ खर्च गरेका छन्। यो महाधिवेशनले चितवनको व्यापारलाई निकै फाइदा पुर्याएको स्थानीय व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया