
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको ग्रामीण क्षेत्रमा गत बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ५.६ मापन गरिएको छ। अधिकारीहरूका अनुसार केही मानिस घाइते भएका छन्, तर हालसम्म ठूलो भौतिक क्षतिको कुनै खबर प्राप्त भएको छैन।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु कृषि क्षेत्रका लागि परिचित विलिट्स नगरबाट करिब १२ किलोमिटर उत्तर–पश्चिममा रहेको थियो। बिहान ८:१० बजे आएको यो भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा केन्द्रित भएको थियो। यसको असर तटीय सहर फोर्ट ब्राग सहित आसपासका धेरै क्षेत्रमा महसुस गरिएको थियो।
भूकम्पपछि केन्द्रबिन्दु नजिकका छ वटा शहरका ६ हजारभन्दा बढी बासिन्दा विद्युत् सेवाबाट वञ्चित भएका छन्। एपीका अनुसार मेन्डोचिनो काउन्टी प्रशासनले सडक र राजमार्गमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ताकि प्राविधिक टोलीहरूले सम्भावित क्षतिको निरीक्षण तथा मर्मत कार्य गर्न सकून्।
क्यालिफोर्नियाको काल्पेला शहरस्थित एक चमेनागृह (रेस्टुरेन्ट)मा काम गरिरहेकी ब्रि लियोनले भवन एक्कासि हल्लिन थालेको बताइन्। उनका अनुसार भाँडा, रिकापी (प्लेट) र मदिराका सिसी (बोतल)हरू जोडले काँपेका थिए। “मलाई भवनमा केही ठोक्किएको जस्तो महसुस भयो,” उनले भनिन्।
मेन्डोचिनो काउन्टीकी प्रवक्ता हेदर रोजका अनुसार स्थानीय अस्पतालहरूले केही घाइतेहरू आएको जानकारी दिएका छन्। तर घाइतेहरूको अवस्था र सङ्ख्या सम्बन्धी विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।
प्रख्यात भूकम्पविद् लुसी जोन्सका अनुसार यो क्षेत्र कुनै प्रमुख भूगर्भीय भ्रंश रेखामा नपरे पनि यहाँ आएको यो भूकम्प पछिल्ला करिब ८६ वर्षयताकै सबैभन्दा शक्तिशाली हो।
यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ भने अधिकारीहरूले सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन्।
प्रतिक्रिया