इरानलाई ३०० बिलियन डलर दिने कुरा “हल्ला मात्रै”: राष्ट्रपति ट्रम्पको कडा खण्डन

इनेप्लिज २०८३ असार २ गते ११:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पुनर्निर्माणका लागि अमेरिकाले ३०० बिलियन डलरको कोष खडा गर्न लागेको दाबीलाई ‘हल्ला’ भन्दै अस्वीकार गरेका छन्। ट्रम्पले अमेरिकाले इरानमा कुनै पनि पैसा लगानी नगर्ने स्पष्ट पारेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हिजो बजारमा आएको त्यो हल्ला एकदमै हाँस्यास्पद थियो। इरानमा पैसा लगानी गर्न हाम्रो कुनै बाध्यता छैन।”

यसअघि केही वरिष्ठ अमेरिकी अधिकारीहरूले इरानले निश्चित सर्तहरू पूरा गरेमा उसलाई सहयोग गर्न ३०० बिलियन डलरको कोष बनाउने समझदारी भएको बताएका थिए। तर, कतारका अमिर शेख तमिमसँगको भेटवार्ताका क्रममा ट्रम्पले दुई पटक यस दाबीको खण्डन गरे। ट्रम्पले आफू अहिले युक्रेन संकटमा बढी केन्द्रित हुन चाहेको र इरानको मुद्दा छिट्टै समाधान हुने बताए। उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग थप वार्ता गर्ने जानकारी दिँदै रूस-युक्रेन युद्धका कारण ठूलो संख्यामा भइरहेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे।

अर्कोतर्फ, जी-सेभेन सम्मेलनमा सहभागी विश्व नेताहरू रूसमाथि थप दबाब बढाउन सहमत भएका छन्। फ्रान्सेली कूटनीतिज्ञका अनुसार बैठकमा रूसको तेल र प्राकृतिक ग्याँस क्षेत्रलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू लगाउने सहमति भएको छ।

जेलेन्स्की समेत सहभागी भएको उक्त बैठकमा नेताहरूले युक्रेनलाई हवाई रक्षा प्रणाली (एअर डिफेन्स) र अन्य सुरक्षा सामग्री उपलब्ध गराएर युद्धमा थप सहयोग गर्ने साझा निर्णय गरेका छन्।

प्रतिक्रिया