
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच मंगलबार बेइजिङमा महत्वपूर्ण भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। विशेषगरी विकास सहकार्य, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन, राजनीतिक आदानप्रदान तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा गहन विचार–विमर्श भएको बताइएको छ।
परराष्ट्रमन्त्री खनालले नेपाल–चीनबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सशक्त र गतिशील बनाउन चिनियाँ पक्षले देखाएको प्रतिबद्धताको प्रशंसा गरे । उनले आपसी विश्वास, सम्मान र सहयोगका आधारमा दुई देशबीचको मित्रता आगामी दिनमा अझ बलियो बन्दै जाने विश्वास व्यक्त गरे
भेटवार्तामा सिपिपिसिसी अध्यक्ष वाङ हुनिङले पनि नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको सन्देश दिएका छन् ।
भ्रमणका क्रममा मन्त्री खनालले ऐतिहासिक ‘ह्वाइट पेगोडा ’को अवलोकन गर्नुका साथै चिनियाँ सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई अन्तर्वार्ता दिने कार्यक्रम रहेको छ। साथै, नेपाली दूतावास बेइजिङद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानी आकर्षित गर्ने प्रयासलाई पनि अगाडि बढाउने छन् ।
मन्त्री खनाल भ्रमण सम्पन्न गरी असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया