
इन्डोनेसियाको सुलावेसी टापुको मध्य भागमा मंगलबार ६.७ म्याग्निच्युड अर्थात् परिमाणकोको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा ८ जना घाइते भएका छन् भने विभिन्न स्थानमा भवन तथा संरचनामा क्षति पुगेको छ। भूकम्पको धक्काले सन् २०१८ को विनाशकारी भूकम्प र सुनामीको पीडा भोगेका स्थानीय बासिन्दाहरू फेरि त्रसित बनेका छन्।
करिब ४ लाख जनसंख्या रहेको पालु शहर तथा आसपासका क्षेत्रमा भूकम्पको तीव्र कम्पन महसुस गरिएको थियो। भूकम्प लगत्तै मानिसहरू ज्यान जोगाउन घर र भवनबाट बाहिर निस्केर खुला स्थानतर्फ भागेका थिए। सुरक्षाका लागि केही अस्पतालले बिरामीहरूलाई सलाइनसहित बाहिर निकालेका थिए।
राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार केन्द्रबिन्दु नजिकैको सिगी क्षेत्रमा कम्तीमा ८ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रभावित क्षेत्रका सडकहरूमा भग्नावशेष छरिएका छन् भने केही भवनका छाना भत्किएका र पर्खाल चर्किएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र पालुबाट करिब ४३ किलोमिटर पूर्व-दक्षिणपूर्वमा रहेको थियो। भूकम्पको गहिराइ करिब १० किलोमिटर रहेको जनाइएको छ। मुख्य भूकम्पपछि ५.२ परिमाणसम्मका परकम्पनहरू पनि आएका छन्।
सुनामीको डरले धेरै मानिस समुद्री तट क्षेत्रबाट टाढा सरेका थिए। यद्यपि इन्डोनेसियाको मौसम तथा भूभौतिक निकायले सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ।
सन् २०१८ मा यही क्षेत्रमा ७.५ म्याग्निच्युड(मापन)को भूकम्प र सुनामीले ४,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो। त्यसैले नयाँ भूकम्पले पुरानो त्रास फेरि एकपटक जीवित बनाएको छ।
प्रतिक्रिया