शान्ति सम्झौता नजिकिँदै गर्दा बेरुतमा इजरायली आक्रमण, ट्रम्पको चेतावनी– ‘सबै पक्ष संयमित बनून्’

इनेप्लिज २०८३ जेठ ३१ गते १७:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास चलिरहेका बेला कुनै पनि पक्षबाट थप आक्रमण नगर्न आग्रह गरेका छन्। यो अपिल इजरायलले लेबनानको राजधानी बेरुतमा हेजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेपछि आएको हो।

आक्रमणपछि बेरुतको आकाशमा धुवाँको मुस्लो देखिएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

यस घटनापछि इरानले सैन्य जवाफ दिन सक्ने चेतावनी दिएको छ। त्यसैबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत “क्षेत्रमा शान्ति ल्याउने सम्झौता धेरै नजिक पुगेको छ” भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। उनले “अब यो अवसरलाई नबिगारौं” भन्ने सन्देश पनि दिएका छन्।

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने तथा क्षेत्रीय शान्ति कायम गर्ने उद्देश्यले एउटा महत्वपूर्ण सम्झौताको तयारी भइरहेको बताइएको छ। तर उक्त सम्झौताबाट इजरायल सन्तुष्ट नरहेको समाचारमा उल्लेख छ। पाकिस्तानसहित अन्य देशहरूको पहलमा भइरहेको वार्तामा इजरायलको भूमिका सीमित भएको बताइन्छ।

गत साता पनि इजरायलले बेरुतको उपनगरमा आक्रमण गरेको थियो, जसले इरान र इजरायलबीचको तनावलाई थप बढाएको थियो। अप्रिल ७ मा भएको युद्धविरामपछि यो सबैभन्दा गम्भीर तनाव मानिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हेजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेपछि जवाफी कारबाही गरिएको जनाएको छ। इजरायली सेनाले हेजबुल्लाहले तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। यद्यपि इरान समर्थित सॅगठन हेजबुल्लाहले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया