
अमेरिका र इरानबीच युद्ध रोक्ने ऐतिहासिक शान्ति सम्झौताको अन्तिम तयारी भइरहँदा इजरायलले लेबनानको राजधानी बेरुतमा शक्तिशाली हवाई आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार लेबनानको सशस्त्र समूह हेजबुल्लाहले उत्तरी इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा यो आक्रमण गरिएको हो।
यो सैन्य तनावका बीच पनि अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। एपीका अनुसार पाकिस्तान र कतारको महिनौँ लामो कूटनीतिक प्रयासपछि यो सहमति सम्भव भएको हो। आज जुन १४ आइतबारका दिन कतारी मध्यस्थकर्ताहरू सम्झौतालाई अन्तिम रूप दिन इरानको राजधानी तेहरान पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार नै यो सम्झौतामा विद्युतीय माध्यम (इलेक्ट्रोनिक) बाट हस्ताक्षर हुन सक्ने बताएका छन्।
सम्झौता लगत्तै युद्धका कारण बन्द भएको व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ अर्थात् हर्मुज जलडमरु तुरुन्तै खुल्ने राष्ट्रपति ट्रम्पले दाबी गरेका छन् । यो मार्ग खुल्दा विश्व बजार र इन्धन आपूर्तिमा ठूलो राहत मिल्नेछ।
यो सम्झौताले इरानको आणविक कार्यक्रम जस्ता सबै पुराना विवादहरू तत्कालै समाधान नगरे पनि आगामी ६० दिनका लागि युद्ध रोकेर प्राविधिक छलफल गर्ने वातावरण बनाउनेछ।
इरानले लेबनानमा भइरहेको युद्ध पनि रोकियोस् र आफ्ना रोक्का गरिएका अर्बौ डलर फुकुवा हुन् भन्ने चाहन्छ। यता इजरायल भने आफूलाई बाहिर राखेर हुन लागेको यो सम्झौताप्रति असन्तुष्ट देखिएको छ।
प्रतिक्रिया