
नेपालको कूटनीतिक इतिहासमै सबैभन्दा साहसी र निडर मन्त्रीको रूपमा छवि बनाएका परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो फलदायी भारत भ्रमण सम्पन्न गरेलगत्तै मित्रराष्ट्र चीन पुगेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको विशेष निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि उहाँ गएराति बेइजिङ प्रस्थान गरेका हुन् ।
स्थानीय समय अनुसार अपराह्न बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा मन्त्री खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए ।
हालैको भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई दिएको एउटा अन्तर्वार्तामा मन्त्री खनालले देखाएको साहसको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । इतिहासमै पहिलो पटक कुनै नेपाली मन्त्रीले भारतीय भूमीमै उभिएर लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अखण्ड भूमि भएको स्पष्ट र निडर अडान राखेका थिए । “सबै सीमा विवादहरू कुनै तेस्रो पक्ष विना, दुई देशबीचको सिधा र सन्तुलित संवाद बाट समाधान गर्न सकिन्छ,” भन्दै उनले राखेको तार्किक भनाइले नेपालको स्वाभिमानलाई विश्वभर उँचो बनाएको छ। विगतका मन्त्रीहरूले यस्तो संवेदनशील विषयमा खुलेर बोल्ने आँट नगरेको परिप्रेक्ष्यमा खनालको यो कदमलाई ऐतिहासिक मानिएको छ ।
भारतमा बलियो कूटनीतिक छाप छाडेर चीन पुगेका मन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले आजै साँझ एक विशेष स्वागत समारोह आयोजना गर्दैछ, जहाँ उनि त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने छन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यी र अन्य उच्च चिनियाँ अधिकारीहरूसँग बेग्लाबेग्लै उच्चस्तरीय भेटवार्ता गर्ने तालिका छ । यस वार्तामा नेपाल-चीन ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने र नयाँ आर्थिक सहकार्यका बाटाहरू खोल्ने विषयमा छलफल हुनेछ ।
साथै, नेपालमा विदेशी लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ दूतावासले आयोजना गर्ने ‘लगानी सम्मेलन’ मा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ ठूला उद्यमी र व्यवसायीहरूसँग नेपालमा व्यापार विस्तार गर्नेबारे महत्त्वपूर्ण परामर्श समेत गर्ने छन् ।
प्रतिक्रिया