विराटनगरमा कांग्रेसको ‘महाभूकम्प’: गगन थापालाई नेता मोहन बस्नेतले भने– दल सिध्याउने ‘मुख्य खलनायक’

इनेप्लिज २०८३ जेठ ३१ गते १०:४० मा प्रकाशित

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र गुटबन्दीले नयाँ र उग्र मोड लिएको छ। विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले दललाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्‍याएको भन्दै संस्थापनइतर पक्षका नेताहरूले नेपाली कांग्रेसका सभापति गगन थापा माथि गम्भीर आरोप लगाएका छन्।

आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको वृहत युवा भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता मोहन बहादुर बस्नेतले सभापति गगन थापामाथि कडा प्रहार गरे।

“कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न सस्तो राजनीतिक नाटकबाट भयो,” नेता बस्नेतले आक्रोश पोखे, “त्यसको मुख्य पात्र वा खलनायक अरू कोही नभएर हाम्रा अहिलेका सभापति गगन थापाजी हुन्। दललाई घाटा पुर्‍याउने नेताबाट अब कांग्रेस जोगिन्छ भनेर के आशा गर्ने?”

आरोप यतिमा मात्रै रोकिएन। सभापति थापाले दलभित्र आफ्नो गुट बलियो बनाउन बीपी कोइरालाका पुत्र डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता इतिहास बोकेका प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा समेत अवरोध सिर्जना गरेको बस्नेतले दाबी गरे।

दल भित्र बलियो दबाब सिर्जना गर्न र विशेष महाधिवेशनपछि देखिएका सांगठानिक कमजोरीहरू सच्याउन भन्दै आयोजित यस भेलाले कांग्रेसभित्रको आन्तरिक कलहलाई सडकमा ल्याइदिएको छ।

भेलामा कांग्रेसका शीर्ष नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारको विशेष उपस्थिति रहेको थियो। कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको विशाल र उत्साहजनक सहभागिता रहेको यो भेलाले केन्द्रको नेतृत्वलाई ठूलो चुनौती दिएको कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले बताए।

यो भेलासँगै कांग्रेसभित्रको सत्ता समीकरण र आन्तरिक शक्ति संघर्ष आगामी दिनमा अझै चर्कने संकेत देखिएको छ।

संसद्‌मा रवि लामिछानेको सहकारी ऋण सम्झौताको कागज आफूसँगै रहेको भन्दै झुटो र नाटकीय दाबी गरेकै कारण गगन थापा स्वयम र कांग्रेसले सर्लाहीको चुनाव समेत हार्नुपरेको थियो । सभापति गगनले अहिले सम्म रबि लालिछानेको उक्त कागज प्रस्तुत गर्न सकेका छैनन् ।

प्रतिक्रिया