
विश्वका चर्चित उद्योगी तथा बिश्वकै धनाढ्य व्यक्ति इलन मस्क संसारकै पहिलो ‘ट्रिलियनियर’ (१,००० अर्ब डलर वा नेपालीमा झन्डै १ शङ्ख रुपैयाँभन्दा बढी सम्पत्ति भएको व्यक्ति बनेका छन् । उनको अन्तरिक्ष प्रतिष्ठान अर्थात् कम्पनी ‘स्पेस-एक्स’ ले पहिलो पटक सर्वसाधारणका लागि सेयर ( आइपिओ ) बिक्री गरेपछि मस्कको सम्पत्तिमा यो व्यापक उछाल आएको हो।
सेयर(हिस्सा) बजारमा स्पेस-एक्सको एउटा हिस्साको मूल्य १३५ डलर तोकिएको थियो। तर, बजार खुल्ने बित्तिकै यसको माग यति धेरै बढ्यो कि शुक्रबार बजार बन्द हुँदासम्म एउटा हिस्साको मूल्य बढेर झन्डै १६१ डलर पुग्यो। यो सफलतासँगै मस्कको कुल सम्पत्ति १.१४ ट्रिलियन (११ खर्ब ४० अर्ब) डलर पुगेको छ। यो सम्पत्ति संसारकै दोस्रो धनी व्यक्ति, गुगलका संस्थापक ल्यारी पेजको भन्दा झन्डै चार गुणा बढी हो।
यो ऐतिहासिक अवसरमा टेक्ससस्थित प्रतिस्ठानको मुख्यालयमा बोल्दै मस्कले भने , “स्पेस-एक्सले तपाईहरूलाई चन्द्रमा, मङ्गल ग्रह र त्योभन्दा पनि टाढा लैजाने लक्ष्य राखेको छ।”
एक ट्रिलियन डलर कति धेरै पैसा हो भनेर बुझ्न संसारका देशहरूको कमाइलाई हेर्नुपर्छ। संसारका जम्मा १९ वटा देश (जस्तै अमेरिका वा नेदरल्याण्ड्स) को मात्र वर्षभरिको कुल कमाइ १ ट्रिलियन डलरभन्दा बढी छ।
बाँकी संसारका अधिकांश देशको ढुकुटीभन्दा मस्कको एक्लो सम्पत्ति धेरै छ। गरिबीविरुद्ध काम गर्ने संस्था ‘अक्सफाम’ का अनुसार इलन मस्क एक्लैको सम्पत्ति संसारका सबैभन्दा गरिब ४६ प्रतिशत (झन्डै ३ अर्ब ८० करोड) मानिसहरूको कुल सम्पत्तिभन्दा पनि बढी छ।
मस्कसँग स्पेस-एक्स कम्पनीको ४२ प्रतिशत सेयर अर्थात् हिस्सा छ। यो सेयरको मूल्य बढेकाले नै उनी यति धेरै धनी भएका हुन्।
यद्यपि, भविष्यमा हिस्साको मूल्य घट्यो भने उनको सम्पत्ति फेरि १ ट्रिलियन डलरभन्दा तल झर्न पनि सक्छ। यो हिस्सा बिक्रीबाट मस्क मात्र होइन, स्पेस-एक्स प्रतिष्ठानमा काम गर्ने अरू झन्डै ४,४०० कर्मचारीहरू पनि करोडपति (मिलियनियर) बन्न सफल भएका छन्।
प्रतिक्रिया