अमेरिकाको टेक्ससमा भयो भयानक गोलीकाण्ड: १ जनाको मृत्यु, ९ घाइते र आक्रमणकारी पनि मारिए

इनेप्लिज २०८३ जेठ २९ गते १७:३४ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा भयानक गोलीकाण्ड भएको छ । ‘मिडल्याण्ड’ शहरमा शुक्रबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने कम्तीमा नौ जना घाइते भएका छन् । प्रहरीसँगको लामो मुठभेडपछि आक्रमण गर्ने शंकास्पद व्यक्ति पनि मारिएको शहरका अधिकारीहरूले बताएका छन् ।

मिडल्याण्ड प्रहरीका अनुसार, शहरको एउटा ठाउँबाट सुरु भएको यो अन्धाधुन्ध गोलीप्रहारको घटना एउटा पशु अस्पताल (भेटेरिनरी क्लिनिक) नजिक पुगेर टुङ्गिएको थियो । एपीका अनुसार प्रहरीले आक्रमणकारीको मृत्यु कसरी भयो भन्ने कुराको विस्तृत विवरण भने तुरुन्तै सार्वजनिक गरेको छैन ।

एपीले आफ्नो समाचारमा जनाए अनुसार घटनास्थल नजिकै काम गर्ने एन्ड्रिया मेन्डियास नामकी महिलाले आफूले एउटा सानो विस्फोट जस्तो आवाज सुनेको र त्यसपछि हतियार बोकेका धेरै प्रहरी अधिकारीहरू पार्किङ क्षेत्रमा कुद्‌दै आएको देखेको बताइन् । उनले त्यसअघि कम्तीमा ४० पटक गोली चलेको आवाज सुनेकी थिइन् । मेन्डियासले खिचेको श्रब्यदृश्य (भिडियो)मा पुलिसहरू बख्तरबन्द गाडीबाट निस्किएर स्थिति नियन्त्रणमा लिन रोबोटहरू प्रयोग गरिरहेको देखिएको थियो ।

स्थानीय मिडल्याण्ड मेमोरियल अस्पतालका अनुसार, घाइते भएकामध्ये चार जनाको अहिले शल्यक्रिया (अपरेसन) भइरहेको छ भने अन्य पाँच जनाको अवस्था स्थिर रहेको छ ।

लगभग १ लाख ४० हजार जनसंख्या भएको मिडल्याण्ड शहर टेक्ससको तेल खानी क्षेत्रमा पर्दछ । यो क्षेत्रमा पहिले पनि यस्तै घटना भएको थियो । सन् २०१९ मा पनि यहाँ यसैगरी एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर ७ जनाको ज्यान लिएका थिए भने २४ जनालाई घाइते बनाएका थिए ।

प्रतिक्रिया