
भकुण्डो (फुटबल )विश्वकप इतिहासकै सबैभन्दा सफल टोली ब्राजिलले सन् २०२६ को विश्वकपमा सोचे जस्तो सुरुवात गर्न सकेको छैन। पाँच पटकको विश्व विजेता ब्राजिल समूह ‘सी’ को आफ्नो पहिलो खेलमा अफ्रिकाको बलियो टोली मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
यो रोमाञ्चक खेल अमेरिकाको न्युजर्सीस्थित ‘न्युयोर्क न्युजर्सी रङ्गशाला ‘ मा खेलिएको थियो। इतिहासकै सफल टोली र अफ्रिकाको सबैभन्दा उच्च वरीयता भएको टोलीबीचको यो भिडन्त निकै प्रतिक्षित थियो।
खेलको सुरुवातमै मोरक्कोले सबैलाई आश्चर्य पार्यो । खेलको २१औं मिनेटमा मोरक्कोका खेलाडी इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाए। मोरक्कोको यो गोलपछि ब्राजिल दबाबमा परेको थियो।
तर, मोरक्कोको त्यो खुसी धेरै बेर टिक्न पाएन। खेलमा पछि परेको केही मिनेटमै ब्राजिलका चर्चित खेलाडी भिनिसियस जुनियरले आफ्नो उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै सुन्दर गोल गरे र खेललाई १-१ को बराबरीमा ल्याए।
मध्यान्तर अघिको समय निकै आक्रामक र रोमाञ्चक रहे पनि खेलको मध्यान्तर पछि दुवै टोलीले निकै संघर्ष गरे तर थप गोल हुन सकेन। ब्राजिलको खेल आज सोचे जस्तो उत्कृष्ट नदेखिए पनि खेलको अन्त्यमा दुवै टोली पहिलो खेलबाट १-१ अंक पाउँदा सन्तुष्ट देखिएका छन्।
प्रतिक्रिया