अमेरिकी कारबाहीमा भेनेजुएलाको कुख्यात गिरोह नेता ‘निन्यो गुएरेरो’ हवाई आक्रमणमा मारिए

इनेप्लिज २०८३ जेठ ३० गते १५:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सबैभन्दा खतरनाक आपराधिक समूह ‘ट्रेन डे अरागुवा’ का मुख्य नाइके हेक्टर रुसथेनफोर्ड गुएरेरो फ्लोरेस (जसलाई ‘निन्यो गुएरेरो’ पनि भनिन्छ) अमेरिकी हवाई आक्रमणमा मारिएको घोषणा गरेका छन्।

अमेरिकी सेनाको ‘साउदर्न कमान्ड’ अर्थात् दक्षिणी कमानले भेनेजुएला सरकारसँग मिलेर यो ठुलो र तीव्र गतिको सैन्य कारबाही गरेको हो।

अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार यो हप्ताको सुरुमा भेनेजुएलाको बोलिभर राज्यमा रहेको गिरोहको एउटा अड्डामा क्षेप्यास्त्र प्रहार गरिएको थियो। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एउटा श्रब्यदृश्य (भिडियो) पनि सेयर गरेका छन्, जसमा क्षेप्यास्त्र (मिसाइल)ले एउटा भवनमा प्रहार गरेपछि त्यहाँ ठुलो आगो बलेको देखिन्छ। ट्रम्पले अब यस्ता अपराधीहरू संसारको कुनै पनि कुनामा सुरक्षित नरहने चेतावनी दिएका छन्।

को हुन् त यी निन्यो गुएरेरो?

४३ वर्षका गुएरेरो संसारभरिकै ‘मोस्ट वान्टेड’ प्रहरीको खोजीमा परेका डरलाग्दा अपराधी थिए। उनलाई पक्राउ गर्न अमेरिकाले ५० लाख डलरको पुरस्कार समेत राखेको थियो। उनले विगत १० वर्षभन्दा बढी समयदेखि यो गिरोह चलाउँदै आएका थिए। सुरुमा एउटा सानो जेलबाट सुरु भएको यो गिरोह बिस्तारै अमेरिका र अन्य देशहरूमा फैलियो। यो गिरोहले लागूऔषध ओसारपसार, मानिसको तस्करी र हत्या जस्ता भयानक अपराधहरू गर्दै आएको थियो।

जेलभित्रै राजाको जस्तो जीवन

गुएरेरो धेरै वर्षसम्म भेनेजुएलाको ‘टोकोरोन कारागार ‘ भित्रै बसेर आफ्नो गिरोह चलाउँथे। उनी जेलभित्र कैदी जस्तो नभई ‘राजा’ जस्तै विलासी जीवन बिताउँथे। जेलभित्र उनको आफ्नै छुट्टै ठूला कोठा (फ्ल्याट) थियो, जहाँ सुरक्षाकर्मी , पौडी खेल्ने पोखरी (स्विमिङ पुल), एउटा सानो चिडियाखाना र नृत्यक्लब समेत थियो। उनी सन् २०१२ र २०२३ मा दुई पटक कारगारबाट भाग्न सफल भएका थिए।

केही महिनाअघि मात्र अमेरिकी सेनाले भेनेजुएलाका पुराना राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएको थियो। त्यसपछि बदलिएको राजनीतिमा अहिले अमेरिका र भेनेजुएलाका सुरक्षाकर्मीले सँगै मिलेर यो खतरनाक गिरोह नेता (ग्याङ लिडर)को अन्त्य गरेका हुन्।

प्रतिक्रिया