
सन् २०२६ को फिफा विश्वकप भकुण्डोको उद्घाटन खेलमा सह-आयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको छ। मेक्सिको शहरस्थित ऐतिहासिक अज्टेका रंगशालामा भएको खेल निकै रोमाञ्चक र नाटकीय रह्यो।
खेल सुरु भएको केवल नवौं मिनेटमै मेक्सिकोका अग्रपंक्तिका खेलाडी जुलियन क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। दक्षिण अफ्रिकाका खेलाडीको गल्तीपछि प्राप्त अवसरलाई उनले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरेका थिए। पहिलो मध्यान्तर भरि मेक्सिकोले खेलमा दबाब कायम राख्यो र क्विनोनेसले अर्को गोल गर्ने अवसर पनि पाए, तर उनि चुके ।
दोस्रो मध्यान्तर (हाफ) सुरु भएको केही समयमै दक्षिण अफ्रिकालाई ठूलो झट्का लाग्यो। टोलीका मध्यमैदानका खेलाडी (मिडफिल्डर )याया सिथोलेलाई गोल गर्ने अवसर रोक्न नियमविपरीत खेल खेलेको आरोपमा रातो कार्ड दिइयो। त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भयो।

खेलको ६७औँ मिनेटमा अनुभवी माहिर प्रहारकर्ता (स्ट्राइकर)राउल जिमेनेजले शानदार टाउको अर्थात् हेडरमार्फत मेक्सिकोको दोस्रो गोल गरे। यो उनको विश्वकपको अन्तिम चरणमा पहिलो गोल थियो। गोल गरेपछि उनी निकै भावुक देखिए। सन् २०२० मा उनको टाउकोमा गम्भीर चोट लागेको थियो, जसले उनको भकुण्डो खेल पेशा( फुटबल करियर) नै संकटमा पारेको थियो। त्यसैले यो गोल उनको जीवनकै विशेष क्षण बनेको मानिएको छ।
दक्षिण अफ्रिकाको अवस्था अझ कठिन बन्यो जब खेलको अन्त्यतिर थेम्बा ज्वानेले विपक्षी खेलाडीलाई थप्पड हानेपछि अर्को रातो कार्ड पाए। यससँगै दक्षिण अफ्रिका केवल ९ खेलाडीमा सीमित भयो। खेलको अन्तिम समयमा मेक्सिकोका सिजार मोन्टेसले पनि रातो कार्ड अर्थात् मैदानबाट बाहिर पठाउने पत्र पाए, तर त्यसले खेलको नतिजामा कुनै प्रभाव पारेन।
यस खेलमा कुल तीन रातो कार्ड देखाइयो, जुन विश्वकप उद्घाटन खेलका लागि असाधारण घटना मानिएको छ। कतारमा भएको २०२२ विश्वकपभरि जम्मा चार रातो कार्ड देखाइएको थियो।
खेलअघि भएको रंगीन उद्घाटन समारोहले पनि दर्शकको मन जित्यो। विश्वप्रसिद्ध गायिका शकिरा, इटालीका गायक आन्द्रेआ बोचेली र कोलम्बियाली कलाकार जे बाल्भिनले आफ्नो बेजोड प्रस्तुति दिएका थिए।
मेक्सिकोका १७ वर्षीय मध्य पंक्तिका खेलाडी गिल्बर्टो मोराले पनि इतिहास रचे। उनी यस विश्वकपका सबैभन्दा कान्छा खेलाडी बनेका छन् र विश्वकप भकुण्डो इतिहासमा खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडीका रूपमा दर्ज भएका छन्। पहिलो स्थानमा ब्राजिलका महान् फुटबलर पेले छन्।
यस जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ । घरेलु मैदानमा विश्वकप जित्ने सपना बलियो बनाएको छ।
प्रतिक्रिया