
अमेरिकाको शिकागो बाहिर बिहीबार कम्तीमा तीनवटा शक्तिशाली घुम्रपात (टोर्नाडो) आएका छन्। एपीका अनुसार यस प्राकृतिक प्रकोपले गर्दा धेरै घरहरू भत्किएका छन् भने ठूला रुख र बिजुलीका खम्बाहरू ढलेका छन्। घुम्रपातका कारण मध्य-पश्चिम (मिडवेस्ट) र उत्तर-पूर्वी अमेरिकामा लाखौँ घरको बिजुली काटिएको छ भने हवाई उडानहरू समेत बन्द भएका छन्।
सिकागोबाट झन्डै ५३ किलोमिटर टाढा रहेको इन्डियाना राज्यको मेरिलभिल शहरमा घुम्रपात आउनुअघि प्रहरीले नागरिकहरूलाई सुरक्षित स्थानमा लुक्न चेतावनी दिएको थियो। साँझसम्ममा त्यहाँका सडकहरू ढलेका रुख र बिजुलीका तारले थुनिएका थिए। घुम्रपातले धेरै घरहरूमा क्षति पुर्याउनुका साथै एउटा बिद्यालयको छाना समेत उडाइदिएको छ।
यसैगरी, इलिनोइ राज्यको स्ट्रिएटर सहरमा पनि घुम्रपात(टोर्नाडो)ले ठूलो नोक्सानी पुर्याएको छ। घरबारविहीन भएका नागरिकहरूका लागि नगरभवनमा उद्धार केन्द्र र रेडक्रसले बस्ने ठाउँ (सेल्टर) बनाएका छन्। स्ट्रिएटरका नगर प्रमुख टेरा बेडेईले अहिलेसम्म कसैको ज्यान नगएको भन्दै उद्धार टोलीले द्रुत गतिमा काम गरिरहेको बताएकी छन्।
यस भीषण घुम्रपात र खराब मौसमका कारण सिकागो, फिलाडेल्फिया र न्यूयोर्क जस्ता ठूला सहरका विमानस्थलमा उडानहरू ढिलो हुने वा रोकिएका छन्। यसअघि बुधबार आयोवा राज्यमा आएको आँधीमा रुखले थिचेर एक ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो।
मौसम विभागले सिकागो, इन्डियाना र मिचिगनका केही भागमा अझै पनि घुम्रपात(टोर्नाडो )आउन सक्ने चेतावनी दिएको छ। खराब मौसमकै कारण सिकागोमा हुने तय भएको एउटा ठूलो बेसबल खेल समेत स्थगित गरिएको छ। घुम्रपात प्रभावित क्षेत्रका बासिन्दाहरू अहिले निकै डराएका छन् र राहतको पर्खाइमा छन्।
प्रतिक्रिया