
सन् २०२६ को विश्वकप भकुण्डो (फुटबल )अन्तर्गत बिहीबार राति भएको रोमाञ्चक खेलमा दक्षिण कोरियाले चेकियालाई २-१ गोल अन्तरले हराएको छ। दक्षिण कोरियाको यो जितमा प्रसिद्ध खेलाडी ह्वाङ इन-बियोमले एक गोल गरे भने अर्को गोलका लागि उत्कृष्ट पास मिलाइदिए।
ग्वाडलाजारा रंगशालामा भएको खेलको पहिलो मध्यान्तर निकै सुस्त थियो। दर्शकहरू निराश भइरहेका बेला दोस्रो मध्यान्तर (हाफ)मा खेलले नयाँ मोड लियो। खेलको ५९औँ मिनेटमा चेकियाका कप्तान लादिस्लाभ क्रेज्सीले टाउको (हेड)मार्फत गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाए।
तर, दक्षिण कोरियाले हार मानेन। खेलको ६७ औँ मिनेटमा ह्वाङ इन-बियोमले दुई जना चेकियाका रक्षकरलाई सुन्दर तरिकाले छक्काउँदै गोल गरेर खेल १-१ को बराबरीमा ल्याए। त्यसपछि, ८० औँ मिनेटमा ह्वाङकै दिएको भकुण्डोमा ओ ह्योन-ग्युले उत्कृष्ट गोल गर्दै दक्षिण कोरियालाई २-१ को निर्णायक जित दिलाए।
दक्षिण कोरियाका प्रशिक्षक होंग म्युङ-बोले खेलपछि खुसी हुँदै भने, “यो हाम्रो पहिलो र निकै गाह्रो खेल थियो। हाम्रा खेलाडीहरूले खेलको अन्तिमसम्म हार नमानेर जिते, यो नै सबैभन्दा ठूलो कुरा हो।”
दक्षिण कोरियाको लागि यो जित ऐतिहासिक हो, किनकि सन् २०१० पछि कोरियाले विश्वकपको आफ्नो पहिलो खेल जितेको यो पहिलो पटक हो। साथै, विश्वकपमा युरोपेली टोलीलाई लगातार तेस्रो पटक हराउन पनि कोरिया सफल भएको छ।
कोरियाका प्रख्यात खेलाडी सन ह्युङ-मिनले खेलभरि राम्रो अवसर पाए पनि गोल गर्न भने सकेनन्। ३३ वर्षका सन यस खेलमार्फत विश्वकपमा एसियाकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न चाहन्थे, तर उनका केही प्रहारहरू गोल हुनबाट चुके। अर्कोतर्फ, सन् २००६ पछि पहिलो पटक विश्वकप खेलिरहेको चेकियाका प्रशिक्षक मिरोस्लाभ कोउबेकले आफ्नो टोलीले केही गल्ती गरेका कारण हार बेहोर्नुपरेको बताए।
यस जितसँगै दक्षिण कोरियाले प्रतियोगितामा बलियो सुरुवात गरेको छ। बिहीबारकै अर्को खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले हराएको छ।
प्रतिक्रिया