
चीनले एक अमेरिकी नागरिकलाई जासुसी गरेको तथा राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको आशंकामा पक्राउ गरेको पुष्टि गरेको छ। पक्राउ पर्ने व्यक्ति यू मिन जिन हुन्, जो म्यानमारसम्बन्धी राजनीतिक तथा नीतिगत अध्ययन गर्ने संस्था इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड पोलिसी म्यानमारका संस्थापक र कार्यकारी निर्देशक हुन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यू मिन जिनमाथि जासुसी गतिविधिमा संलग्न भएको र चीनको राष्ट्रिय सुरक्षामा असर पुर्याएको आशंकामा अनुसन्धान भइरहेको जानकारी दिएका हुन्। यद्यपि आरोपसँग सम्बन्धित थप विवरण सार्वजनिक गरिएको छैन।
आएसपि-एमले म्यानमारको राजनीति, प्राकृतिक स्रोत, सुरक्षा अवस्था र द्वन्द्वका विषयमा अध्ययन गर्दै आएको छ।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यानमार गृहयुद्धजस्तै परिस्थितिमा फसेको छ। संस्थाले प्रकाशित गरेका केही अध्ययनहरूले चीन–म्यानमार सीमाक्षेत्रमा चीनको प्रभाव र विभिन्न सशस्त्र समूहसँगको सम्बन्धबारे पनि चर्चा गरेका छन्।
समाचार संस्था एएफपीका अनुसार यू मिन जिनलाई जुन ३ मा चीनको युनान प्रान्तस्थित कुनमिङ विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी त्यहाँ एउटा बैठकमा सहभागी हुन गएका थिए। घटनाको संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा बोल्ने स्रोतहरूले उनको परिवार र सहकर्मीहरू निकै चिन्तित रहेको बताएका छन्।
चिनियाँ अधिकारीहरूले अमेरिकाको ग्वाङझाउस्थित वाणिज्य दूतावासलाई घटनाबारे जानकारी दिइसकेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले पनि एक अमेरिकी नागरिक चीनमा पक्राउ परेको जानकारी आफूहरूसँग रहेको र आवश्यक कूटनीतिक सहायता उपलब्ध गराइने जनाएको छ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले भने चीन कानुनको शासनमा चल्ने देश भएको भन्दै चीनमा बस्ने वा भ्रमण गर्ने सबै विदेशीले चिनियाँ कानुनको पालना गर्नुपर्ने बताएको छ। कानुन उल्लंघन गर्ने जोसुकैलाई कानुनी रूपमा जिम्मेवार ठहर गरिने दूतावासको भनाइ छ।
यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिग बीच बेइजिङमा भएको उच्चस्तरीय भेटवार्ताको केही सातापछि सार्वजनिक भएको हो। त्यसैले यस घटनाले अमेरिका–चीन सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।
हाल अनुसन्धान जारी रहेकाले यू मिन जिनमाथिका आरोप प्रमाणित भएका छैनन्।
घटनाको वास्तविक कारण र अन्तिम निष्कर्ष आगामी दिनमा मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया