
सत्यको एउटा समस्या छ—त्यो विस्तारै हिँड्छ तर आक्रोश दौडिन्छ। बेलफास्टमा यही भयो। एउटा रक्ताम्य घटनाले शहरलाई स्तब्ध बनायो तर अनुसन्धानले तथ्यहरू केलाउन सुरु गर्नुअघि नै सामाजिक सञ्जालले आफ्नो अदालत बसाइसकेको थियो। त्यहाँ न प्रमाणको प्रतीक्षा थियो, न न्यायिक प्रक्रियाप्रति धैर्यता। अभियुक्त तय भइसकेको थियो, दोषको दायरा विस्तार भइसकेको थियो र लाखौं मानिसका स्क्रिनमा एउटा यस्तो कथा निर्माण भइसकेको थियो, जसमा तथ्यभन्दा भावना, विवेकभन्दा उत्तेजना र वास्तविकताभन्दा न्यारेटिभ शक्तिशाली बनिसकेको थियो। केही घण्टापछि त्यो कथा डिजिटल संसारबाट सडकमा झर्यो। पोस्टहरू नारामा बदलिए, नाराहरू भीडमा बदलिए र भीड हिंसामा। त्यसपछि आप्रवासीका घरहरू छानीछानी जल्न थाले, उनीहरूका सवारीसाधनहरूमा आगो लाग्न थाल्यो र एउटा शहरले डिजिटल युगको सबैभन्दा डरलाग्दो यथार्थ देख्यो। आज धेरै अवस्थामा भीडलाई सडकले होइन, एल्गोरिदमले नेतृत्व गर्छ।
बेलफास्टमा भएको घटना मूलतः एउटा आपराधिक घटना थियो। कानुनी दृष्टिकोणले हेर्दा त्यो एक व्यक्तिले गरेको अपराध थियो, जसको अनुसन्धान र न्यायिक प्रक्रिया राज्यका निकायले गर्ने विषय हो। तर डिजिटल युगमा कुनै पनि घटना केवल घटना भएर रहँदैन। सामाजिक सञ्जालले त्यसलाई आफ्नो ढंगले व्याख्या गर्छ, भावनात्मक बनाउँछ, राजनीतिक बनाउँछ र अन्ततः समाजले वास्तविक तथ्यभन्दा पनि सामाजिक सञ्जालले निर्माण गरेको कथनलाई सत्य ठान्न थाल्छ।
बेलफास्टमा पनि यही भयो। घटना सार्वजनिक भएको केही घण्टामै भिडियो क्लिपहरू, अपुष्ट दाबीहरू, आक्रोशपूर्ण पोस्टहरू र राजनीतिक उद्देश्यले बनाइएका सन्देशहरूले उक्त घटनालाई केवल अपराधको घटनाबाट “आप्रवासनको असफलता”, “राष्ट्रिय सुरक्षामाथिको खतरा” र “स्थानीय नागरिकमाथिको योजनाबद्ध आक्रमण” जस्ता व्यापक राजनीतिक नारामा रूपान्तरण गरिदिए। एउटा व्यक्तिको अपराधिक कार्यलाई सम्पूर्ण समुदायको प्रतिनिधि व्यवहारका रूपमा चित्रित गरियो र अपराधभन्दा पहिचान ठूलो विषय बनाइयो। परिणाम यति भयावह बन्न पुग्यो कि नितान्त एउटा ब्यक्तिगत अपराधिक घटना अन्ततः आप्रवासी विरुद्ध सांघातिक हमला गर्ने परिस्थिति निर्माण हुनपुग्यो।
यही आधुनिक डिजिटल युगको सबैभन्दा ठूलो चुनौती हो। पहिले कुनै घटना घटेपछि पत्रकार, अनुसन्धानकर्ता, प्रहरी र सम्बन्धित निकायहरूले तथ्य सङ्कलन गर्थे। त्यसपछि समाजले निष्कर्ष निकाल्थ्यो। अहिले भने प्रक्रिया उल्टिएको छ। पहिले निष्कर्ष बनाइन्छ, त्यसपछि त्यसलाई समर्थन गर्ने सामग्री खोजिन्छ। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने निष्कर्ष पहिल्यै तय गरिसकेका हुन्छन्। त्यसपछि उनीहरूले त्यही निष्कर्षलाई पुष्टि गर्ने भिडियो, पोस्ट वा टिप्पणीहरू मात्र हेर्न, विश्वास गर्न र बाँड्न थाल्छन्।
यसमा सामाजिक सञ्जालका एल्गोरिदमहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। फेसबुक, एक्स, टिकटक वा युट्युब कुनै पनि सत्य खोज्ने संस्था होइनन्। तिनको उद्देश्य प्रयोगकर्तालाई सकेसम्म धेरै समय प्लेटफर्ममा रोकिराख्नु हो। मानिसहरूलाई क्रोध, डर, घृणा र उत्तेजनाले तान्छ भन्ने कुरा एल्गोरिदमले धेरै पहिले बुझिसकेको छ। त्यसैले सन्तुलित विश्लेषणभन्दा उत्तेजक सामग्री छिटो फैलिन्छ। तथ्यभन्दा भावना शक्तिशाली बन्छ। प्रमाणभन्दा आक्रोश प्रभावकारी हुन्छ। सामाजिक सञ्जालको अर्थतन्त्र नै मानिसको ध्यान बेच्ने अर्थतन्त्र भएकाले त्यहाँ सन्तुलनभन्दा सनसनीको मूल्य बढी हुन्छ।
बेलफास्टको घटनामा पनि यही देखियो। एउटा हिंसात्मक घटनाको भिडियो हजारौं पटक साझा गरियो। त्यससँगै विभिन्न दाबीहरू जोडिए। कतिपय सत्य थिए, कतिपय आधा सत्य थिए र कतिपय पूर्ण रूपमा भ्रामक थिए। तर ती दाबीहरूको सत्यता जाँच्नेभन्दा पनि मानिसहरूले आफ्नो आक्रोशलाई पुष्टि गर्ने सामग्री खोजे। केही घण्टामै सामाजिक सञ्जालमा निर्माण भएको कथन सडकमा ओर्लियो। त्यसपछि अपराधीको पहिचानभन्दा पनि उसको राष्ट्रियता र शरणार्थी हैसियत मुख्य विषय बन्यो। परिणामस्वरूप आप्रवासीहरूको घर जलाइयो, गाडीहरूमा आगो लगाइयो र निर्दोष हजारौं मानिसहरूमाथी खुलेयाम आक्रमण भयो।
वास्तवमा सामाजिक सञ्जालले आज एउटा नयाँ प्रकारको भीड मानसिकता जन्माएको छ। पहिले भीड सडकमा जम्मा भएपछि उग्र हुन्थ्यो। अहिले भीड पहिले अनलाइनमा निर्माण हुन्छ र त्यसपछि सडकमा प्रकट हुन्छ। डिजिटल भीडले कसलाई दोषी मान्ने, कसलाई शत्रु बनाउने र कसलाई समर्थन गर्ने भन्ने निर्णय क्षणभरमै गरिदिन्छ। त्यहाँ अदालतको प्रक्रिया हुँदैन, प्रमाणको परीक्षण हुँदैन र सन्तुलित बहसको स्थान पनि हुँदैन। जसको आवाज धेरै चर्को हुन्छ, उसको कथन नै सत्य जस्तो देखिन थाल्छ।
यसले लोकतान्त्रिक समाजका लागि गम्भीर खतरा सिर्जना गरेको छ। जब नागरिकहरूले पत्रकारिता, अनुसन्धान र कानुनी प्रक्रियाभन्दा एल्गोरिदमले देखाएको सामग्रीलाई बढी विश्वास गर्न थाल्छन् तब समाज तथ्यमा होइन, भावनामा चल्न थाल्छ। भावनाले सञ्चालित समाजहरूमा ध्रुवीकरण बढ्छ, सहिष्णुता घट्छ र हिंसा सामान्य बन्दै जान्छ। लोकतन्त्रको शक्ति सूचित नागरिकमा हुन्छ तर सामाजिक सञ्जालको अतिरञ्जित संसारले नागरिकलाई सूचितभन्दा बढी उत्तेजित बनाइरहेको छ।
बेलफास्टको घटनाले यही चेतावनी दिएको छ। समस्या केवल एउटा शरणार्थीले गरेको कथित अपराध होइन। समस्या त्यो पनि हो कि एउटा घटनालाई सामाजिक सञ्जालले कसरी सामूहिक क्रोधको प्रतीक बनायो? एउटा व्यक्तिको कार्यलाई सम्पूर्ण समुदायसँग कसरी जोडियो ? एउटा अपराधलाई सम्पूर्ण आप्रवासन नीतिको प्रमाणका रूपमा कसरी प्रस्तुत गरियो ? र अन्ततः षडयन्त्र्पूर्वक तथ्यभन्दा न्यारेटिभलाई कसरी शक्तिशाली बनाइयो र आप्रवासीमाथी कहालीलाग्दो आक्रमण गरियो ?
आजको संसारमा सत्य लुकाइएको कारणले मात्र हराउँदैन। कहिलेकाहीँ सत्य यति धेरै आवाज, यति धेरै पोस्ट र यति धेरै भावनात्मक प्रतिक्रियाको बीचमा हराउँछ कि मानिसहरूले त्यसलाई देख्नै छाड्छन्। बेलफास्टको आगोले घर र गाडी मात्र जलाएको छैन; यसले डिजिटल युगमा सत्य, विवेक र सामाजिक उत्तरदायित्व कति कमजोर बन्दै गइरहेको छ भन्ने कुरालाई पनि उजागर गरेको छ।
बेलफास्टको आगो उत्तरी आयरल्यान्डको एउटा स्थानीय घटना मात्र होइन, यो डिजिटल युगको विश्वव्यापी चेतावनी पनि हो। यदि बेलायतजस्तो विकसित, संस्थागत रूपमा बलियो र तुलनात्मक रूपमा व्यवस्थित राज्यमा सामाजिक सञ्जालले निर्माण गरेको न्यारेटिभ र एल्गोरिदमले केही घण्टामै आगजनी, लुटपाट र सामाजिक आतंकको अवस्था सिर्जना गर्न सक्छ भने नेपालजस्तो कमजोर संस्थागत संरचना, राजनीतिक ध्रुवीकरण र न्यून डिजिटल साक्षरतायुक्त समाजमा यसको प्रभाव कति गम्भीर हुन सक्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि तथ्यभन्दा उत्तेजना, समाचारभन्दा अफवाह र बहसभन्दा भीडको मानसिकताले स्थान लिन थालेको संकेत देखिन थालेका छन्। त्यसैले बेलफास्टलाई केवल टाढाको एउटा घटना ठानेर बेवास्ता गर्ने छुट हामीलाई छैन। सामाजिक सञ्जालको बढ्दो प्रभाव, एल्गोरिदमद्वारा सञ्चालित जनमत र अनलाइन आक्रोशको राजनीतिक तथा सामाजिक दुरुपयोगबारे राज्य, नियामक निकाय, सञ्चारमाध्यम र नागरिक समाजले बेलैमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ। अन्यथा कुनै दिन कुनै एउटा घटना, कुनै एउटा भिडियो वा कुनै एउटा अफवाहले समाजलाई विवेकभन्दा आवेग र तथ्यभन्दा उत्तेजनाको दिशामा धकेल्ने खतरा नेपालमा पनि असम्भव छैन। आखिर बारुद जहाँसुकै हुन सक्छ, त्यसलाई सल्काउन एउटा झिल्को मात्र पर्याप्त हुन्छ।
मदन बस्नेत, टोरन्टो।
प्रतिक्रिया