
वि.सं. २०१२ सालमा म्याग्दी जिल्लाको विकट अर्मला गाउँमा जन्मिएका महावीर पुनको जीवन कथा अभाव, संघर्ष र परिवर्तनको अद्भुत यात्राको रूपमा चिनिन्छ। बाल्यकालमा उनले गाउँमै शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता आधारभूत सुविधाको चरम अभाव भोगे। कठिन परिस्थितिबीच हुर्किए पनि उनका पिता ब्रिटिस गोर्खा सैनिक भएकाले उनलाई पछि पोखरा झरेर अध्ययन गर्ने अवसर मिल्यो, जसले उनको जीवनको दिशा नै बदलिदियो।
पोखरामा स्कुल र कलेजको अध्ययन पूरा गरेपछि उनले ठूलो सपना देखे। ३१ वर्षको उमेरमा अमेरिका जाने आशामा उनी काठमाडौँ पुगे। TOEFL पास गरेपछि मात्र अमेरिका जान पाइन्छ भन्ने सुनेर उनी १८ महिनासम्म काठमाडौँमै बसेर निरन्तर तयारीमा जुटे। त्यही क्रममा उनले अमेरिकाका विभिन्न विश्वविद्यालयहरूलाई छात्रवृत्तिका लागि लगातार पत्र लेखे। यतिसम्म कि उनले चन्द्रमामा पहिलो पाइला राख्ने अन्तरिक्ष यात्री नील आर्मस्ट्रङलाई समेत सहयोगको अपिल गर्दै पत्र पठाए।
लामो प्रयासपछि अन्ततः एउटा विश्वविद्यालयबाट सकारात्मक जवाफ आयो र सन् १९८९ मा उनी उच्च शिक्षाका लागि अमेरिका पुगे। नेब्रास्का विश्वविद्यालयमा छात्रवृत्तिसहित विज्ञान शिक्षामा स्नातक अध्ययन पूरा गरे। पछि उनले शैक्षिक प्रशासनमा स्नातकोत्तर पनि सन् २००१ मा पूरा गरे।
विदेशमा अवसर हुँदाहुँदै पनि उनले स्वदेश फर्किने निर्णय गरे। नेपाल फर्किएपछि उनले दुर्गम गाउँहरूमा सूचना प्रविधि र शिक्षा जोड्ने अभियान सुरु गरे। ग्रामीण क्षेत्रमा प्रविधि पुर्याउने उद्देश्यले उनले विद्यालय, समुदाय र स्थानीय विकासलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरे।
सन् २००१ देखि उनले सुरु गरेको ‘नेपाल वायरलेस नेटवर्किङ परियोजना’ ले सौर्य ऊर्जा, साना जलविद्युत्, वायरलेस इन्टरनेट र दूरशिक्षामार्फत पहाडी तथा हिमाली गाउँहरूलाई विश्वसँग जोड्ने काम गर्यो। यसै योगदानका कारण उनलाई अन्तर्राष्ट्रिय रूपमा “ग्लोबल कनेक्टर” भनेर चिनिन्छ।
ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन उनले याक पालन, कृषि उत्पादन, जाम–चिज उद्योग र पर्यटन गतिविधिहरू पनि सञ्चालन गरे, जसले गाउँलाई आत्मनिर्भर बनाउन सहयोग गर्यो।
नवप्रवर्तन र अनुसन्धानलाई संस्थागत गर्न उनले ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरे, जसले युवाहरूलाई आविष्कार र प्रयोगात्मक विज्ञानतर्फ प्रेरित गर्दै आएको छ।
उनको जीवनको अर्को महत्वपूर्ण पक्ष राजनीतिक यात्रा हो। उनी म्याग्दी जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र स्वतन्त्र सांसद हुन्। जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने उनको शैलीले उनलाई विशेष पहिचान दिलायो।
पछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा शपथ लिए। त्यतिबेला उनले आफूलाई “कवाडी वैज्ञानिक मन्त्री” भनेर उल्लेख गर्दै सरल र व्यङ्ग्यात्मक शैलीमा आफ्नो पहिचान प्रस्तुत गरे।
मन्त्री पदमा रहँदा उनले विश्वविद्यालयमा हुने नियुक्तिमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने अडान लिए र विश्वविद्यालयसम्बन्धी छाता कानुन आवश्यक रहेको माग गरे। तर उक्त माग पूरा नभएपछि उनले मन्त्री पदबाट राजीनामा दिए।
पछि सरकारले उनको मुख्य माग सम्बोधन गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि उनी पुनः सरकारमा फर्किए।
उनको इमानदारी, संघर्ष र नवप्रवर्तनप्रतिको समर्पणका कारण उनले रोमन म्यागसेसे पुरस्कार, अशोका फेलोशिप, इन्टरनेट हल अफ फेम लगायतका अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
आज महावीर पुन नेपाली समाजमा संघर्ष, इमानदारी र परिवर्तनको प्रेरणादायी प्रतीक बनेका छन्।
प्रतिक्रिया